बेलबारी । मोरङको बेलबारीमा १६ जनाको ‘र्यापिड डाइग्नोष्टिक टेस्ट’ गरिएको छ । विदेशबाट आएकाहरुलाई र्यापिड टेस्ट गराउँदा १६ जनाकै रिपोर्ट ‘नेगेटिभ’ आएको बेलबारी नगरपालिकाले जनाएको छ ।
विदेशबाट आएका शंकास्पद व्यक्तिहरुलाई परीक्षण गर्दा कसैमा पनि कोरोनाको संक्रमण नभेटिएको नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताए ।
विभिन्न देशवाट आएका ९८ जनाको पहिलो चरणमा परीक्षण गर्ने तयारी गरिएको मेयर ज्ञानेन्द्र सुवेदीले जानकारी दिए । यसअघि ६ जनाको परीक्षण गर्दा उनीहरुको रिपोर्ट पनि ‘नेगेटिभ’ आएको थियो ।
स्वास्थ्यकर्मीहरुका अनुसार र्यापिड टेस्टबाट १५ मिनेटमै रिपोर्ट आउछ । रिपोर्टमा कोरोना ‘पोजेटिभ’ देखिएमा बिरामीको ‘स्वाब’ परिक्षण गरेर कोरोना संक्रमणको यकिन गर्ने गरिन्छ ।