धनकुटा । धनकुटामा पत्रकारलाई समाचार संकलनमा अवरोध गरिएको बिषयमा प्रशासनले गल्ती स्वीकार गरेको छ । बुधबार साँझ प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमली र पत्रकारहरुवीच भएको छलफलमा आगामी दिनमा सहकार्य गरेर अघि बढ्ने समझदारी पनि भएको छ ।
पत्रकार महासंघका पूर्व अध्यक्ष खगेन्द्र प्रसाद घिमिरे, महासंघका उपाध्यक्ष नगेन्द्र राईसहितको टोली र प्रमुख जिल्ला अधिकारी विमलीवीच छलफल भएको थियो । छलफलमा प्रशासनले गल्ति स्वीकार गर्दै आगामी दिनमा सहकार्य गरेर अघि बढ्ने दुई पक्षवीच सहमति भएको महासंघका पूर्व अध्यक्ष घिमिरेले जानकारी दिए ।
यता, प्रमुख जिल्ला अधिकारी बिमलीले पत्रकारलाई अवरोध गर्ने नियत नभएतापनि पर्याप्त समन्वय अभावका कारण अवरोध भएकाले आगामी दिनमा अझ बढी सहकार्य गरेर अघि बढ्ने सहमति भएको प्रतिक्रिया दिएका छन् ।
केहि दिन अघि सूर्य बहादुर थापा प्रतिष्ठानले पठाएको स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा पत्रकारलाई समाचार संकलनमा अवरोध भएको थियो । सो बिषयमा प्रशासनको चौतफी आलोचना भएपछि अन्ततःदुई पक्षबीच सहमतिमा बिषय टुंग्याईएको हो ।