
धनकुटा । धनकुटाका कम्युनिष्ट नेता डम्बर याक्सो (सुब्बा) को निधन भएको छ । कलेजोमा समस्या भएर उपचारका लागि काठमाण्डौं लगिएका सुब्बाको ६० बर्षको उमेरमा गएराती निधन भएको परिवार स्रोतले जनाएको छ ।
धनकुटा–४ स्कुलडाँडा निवासी नेता सुब्बाको कलेजोमा करिव ५ महिना अघिदेखि खराबी देखिएको थियो । केहि महिनायता काठमाण्डौमा उपचार गराउँदै आएका सुब्बालाई धनकुटा आएका बेला जण्डिसले सताएपछि एक साता अघि उपचारका लागि पुनः काठमाण्डौं पुर्याइएको थियो ।
स्वास्थ्यमा जटिलता बढेपछि राजधानीको चावहिल स्थित मेडिसिटी अस्पतालको सघन उपचार कक्षमा सोमबार भर्ना गरिएका सुब्बाको राती करिव साँढे १२ बजे निधन भएको भाई राजकुमार दिक्पालले पुष्टि गरे ।
धनकुटा नगर बिकास समिति र जिल्ला अस्पताल बिकास समितिको अध्यक्षसमेत भएका नेता सुब्बा ०३६ सालयता कम्युनिष्ट राजनीतिमा सक्रिय थिए । उनको पार्थिव शरिरलाई काठमाण्डौंमा आजै अन्त्येष्टि गरिने बताइएको छ । स्वार्गिय नेता सुब्बाका श्रीमतिसहित तीन छोरा छन् ।















