धनकुटा । ज्वरो आएका बिरामीलाई कोरोनाको आशंका गरी गेटबाटै फर्काउँदै आएका अस्पतालहरुका कारण धनकुटाकी एक महिलाले उपचार नपाएर ज्यान गुमाउँनु परेको छ । अस्पतालहरुले उपचार गर्न नमान्दा एकपछि अर्को अस्पताल घुमाउँदा घुमाउँदै समयमा उपचार नपाएर महालक्ष्मी नगरपालिका–५ लेगुवाकी ५२ वर्षीया नरदेवी गुरुङको मृत्यु भएको हो ।
विराटनगरको न्यूरो अस्पताल, विराट नर्सिङ होमसमेतका ठूला अस्पतालले बिरामी लिन अस्वीकार गर्दै फर्काएका कारण बाहिनीले ज्यान गुमाउँनु परेको मृतकका दाजु शिवकुमार लिम्बू तुम्बाले बताए । महालक्ष्मी–५ का वडाध्यक्षसमेत रहेका शिवकुमारले कोरोनाको महामारीका बेला उपचारका लागि बिरामी लिनै नमान्ने अस्पतालको गैरजिम्मेवारीपन र लापरबाही प्रति आक्रोस पोखे ।
बगैंचाको फूलमा पानी लगाउने क्रममा नरदेवी बिहान करिव ६ बजे बेहोस भएर ढलेकी थिइन् । छोरी लक्ष्मी गुरुङ (राई) का अनुसार सुरुमा नरदेवीलाई स्थानीय क्लिनिकमा लगियो । त्यहा उपचार सम्भव नभएपछि स्वास्थ्यकर्मीले अन्यत्र ठुला अस्पताल लैजान सुझाव दिए ।

त्यसपछि एम्बुलेन्समा राखेर करिव १० बजे धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइयो । ‘चेकजाँचका क्रममा १०२ डिग्री ज्वरो पनि देखियो । डाक्टरले धरानमा आईसीयू खाली नभएको र बिरामीलाई तत्काल आईसीयूमा राख्नु पर्ने भन्दै विराटनगरको न्युरो अस्पताल रेफर गरे ।’ मृतककी छोरी लक्ष्मीले भनिन् ‘न्युरोमा डाक्टरले भेन्टिलेटर खाली नभएको र धेरै ज्वरो आएका बिरामी उपचार गर्न सकिँदैन भनेर निकालिदिए ।’
त्यसपछि करिब १ बजे बिरामीलाई विराट नर्सिङ होम पुर्याइयो । अरु अस्पतालले उपचार गर्न नमानेको बिरामीलाई हामीले किन उपचार गर्ने भन्दै कर्मचारी र चिकित्सकले तुच्छ व्यवहार देखाएको लक्ष्मीले गुनासो गरिन् । ‘सुरुमा बेडमा राखेर औषधि किन्न लगाए । उपचार पनि सुरु गरे,’ लक्ष्मीले भनिन्, ‘अरु अस्पतालको कागजपत्र हेरेपछि हामी पनि उपचार गर्दैनौं भन्दै निकालिदिए ।’
त्यसपछि नरदेवीलाई नोबेल शिक्षण अस्पताल पुर्याइयो । नोबेलमा सीटी स्क्यान गर्दा टाउकोमा रगत जमेको देखियो । उपचारकै क्रममा दिउँसो करिव ३ः३० बजे उनको मृत्यु भएको नोबेलको आकस्मिक कक्षका इन्चार्ज डा.अमित अग्रहरीले बताए । ‘बिरामीको टाउकोमा ब्लड जमेको रहेछ । उपचारमा ढिलाई भएकाले बचाउँन सकिएन ।’ संगालोखबरसँग डा.अग्रहरीले भने ‘समयमै उपचार सुरु गर्न सकेको भए उहाँलाई बचाउँन सक्ने संभावना थियो ।’
यता, न्युरो अस्पतालका निर्देशक राजेश भट्टराईले भेन्टिलेटर खाली नभएर वा अरु नै केही समस्या भएर बिरामीको उपचार गर्न चिकित्सक असमर्थ भएको तर्क गर्छन् । विराट नर्सिङ होमका प्रशासन प्रमुख पदम विनाडीले अस्पतालमा कोरोनाका लागि कुनै सुरक्षात्मक उपाय नभएका कारण कोरोनाको लक्षण मिल्ने बिरामीको उपचार गर्न नसकिने बताउँछन् ।
अरुबेला बिरामी तान्न तछाडमजाड गर्ने अस्पतालहरु संकटका बेला बिरामी लिनै नमानेर पन्छिने गरेको भन्दै बिरामी र बिरामीका आफन्तले आक्रोस पोख्ने गरेका छन् ।















