संगालोखबर सम्वाददाता

दमक । कोरोना भाइरस संक्रमित युवतीसँगै जहाजमा आएका एक युवा झापाको दमकमा सेल्फ क्वारेनटाईनमा बसेका छन् । धनकुटाको चौबिसे गाउँपालिका–५ बोधे पुर्खौली घर भई हाल दमक बसाई सरेका युवक गत ४ गते कतार एयरवेजको क्यूआर ६५२ जहाजबाट काठमाण्डौं आएका हुन् ।

Advertisement

फ्रान्सबाट कतार ट्रान्जिट हुँदै उनीसँगै आएकी १९ बर्षीय युवतीलाई कोरोनाको संक्रमण पुष्टि भएर अहिले आईसुलेशनमा छिन् । युवती सवार जहाजमा सँगै आएका यात्रुको खोजी गर्ने क्रममा ती युवक दमक स्थित घरमै क्वारेनटाइन बसेको पत्ता लागेको दमकका डिएसपी बिजयराज पण्डितलले संगालोखबरलाई जानकारी दिए ।

ती युवकको राहदानीमा धनकुटा ठेगाना रहेकाले उनको धनकुटामा खोजी भइरहेको थियो । नागरिकता नम्बरका आधारमा खोजी गर्दा चौबिसे घर भएको ठेगाना पत्ता लाग्यो । त्यसपश्चात चौबिसे गाउँपालिका अध्यक्ष खजिन्द्र राई, उपाध्यक्ष यज्ञकुमारी रुचाल लगायतले बुधबार गाउँमा गएर खोजि गर्दा उनको परिवार बसाईसरिसकेको पत्ता लागेको हो ।

धनकुटाबाट बसाईसरिसकेकाले उनी काठमाण्डौबाट सिधै दमक गएका थिए । दमक प्रहरीले सम्पर्क गर्दा उनी घरमै बसिरहेको थाहा भएको हो । प्रहरीका अनुसार उनमा हालसम्म कोरोनाको लक्षण देखिएको छैन र स्वास्थ्य परिक्षण पनि गरिएको छैन ।

उनीहरुसँगै जहाजमा १ सय ५८ जना सवार थिए । जसमध्ये १ सय २५ जना सम्पर्कमा आइसकेको बताईएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!