धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका-२ ओख्रेकी २१ बर्षीया सर्मिला अधिकारीको शव तमोर नदीमा फेला परेको छ । साँगुरीगढी गाउँपालिका–७ चनौती स्थित तमोर नदी किनारमा आईतबार दिउँसो उनको शव भेटिएको प्रहरीले जनाएको छ ।
उनी चार दिन अघिदेखि परिवारसँग सम्पर्कबिहिन थिईन् । नदी किनारमा तैरिरहेको अवस्थामा अधिकारीको शव भेटिएको धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुदर्शन कोईरालाले संगालोखबरलाई जानकारी दिए । शव भेटिएको भन्दा झण्डै एक किलोमिटर माथि नदी किनारमा उनको झोला फेला परेको छ ।
झोलामा रहेको डायरीमा उनको ‘सुसाइड नोट’ समेत भेटिएको छ । ‘असारमा भाईको बिहे होला । मेरो काजकिरिया ५ दिनमै सक्नु । मेरो कारणले कुनै पनि कार्य नरोकिदिनुहोला । यो मेरो ईच्छा हो ।’ लेखिएको प्रस्ट नबुझिने सुसाइड नोट भेटिएको एस्पी कोईरालाले बताए ।
सुसाईड नोटमा परिवारको सम्पर्क नम्बरसमेत उल्लेख रहेकाले सोहि आधारमा सम्पर्क गरेर प्रहरीले शवको पहिचान गरेको हो । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।