
बिराटनगर । नेपाल पत्रकार महासंघ मोरङले समाचार संकलनमा खटिने पत्रकारलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउँँन सरकारसँग सुरक्षा सामाग्री माग गरेको छ ।
महासंघको आज बसेको १५ औं पूर्ण बैठकले पत्रकारका लागि स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराउँन स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको विपद् व्यवस्थापन समिति समक्ष माग गरेको हो ।
‘कोरोना भाइरसको उच्च जोखिममा नेपाल र मोरङ बिराटनगर पनि रहेकाले समाचार संकलन, रिपोटिङका लागि नियमित खट्ने पत्रकार तथा संचारकर्मीहरुका लागि आवश्यक सुरक्षा सामाग्री उपलब्ध गराउँन माग गर्दछौ ।’ बैठकपछि महासंघ सचिव अर्जुनकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैठकले सदस्यता सुद्धीकरण, नवीकरण र वितरण समितिबाट महासंघको सदस्यताका लागि सिफारिस भएका २२ जनाको आवेदन स्वीकृत पनि गरेको छ । त्यस्तै केन्द्रिय र प्रदेश समितिको नवीकरण कार्यविधि अनुसार चैत मसान्तभित्र सदस्यता नविकरण गराउँन सदस्यहरुलाई आवहनसमेत गरिएको महासंघले जनाएको छ ।















