
बिराटनगर । प्रदेश नं. १ को मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सरुवा भएर आएका प्रमुख सचिव दिनेश भट्टराईसँग उद्योगीहरुले भेटघाट गरेका छन् । उद्योग मन्त्रालयबाट सरुवा भएर आएका प्रमुख सचिव भट्टराईलाई स्वागत गर्दै उद्योग संगठन मोरङले भेटघाट कार्यक्रम गरेको हो ।
कार्यक्रममा प्रमुख सचिव भट्टराईले उद्योगका समस्याप्रति जानकार रहेको भन्दै ऐन, कानुनले तोकेको परिधिलाई ध्यानमा राखी उद्योगी व्यावसायीका समस्या समाधान गर्ने प्रतिवद्धता जनाए । फरक प्रशंगमा उनले कोरोना भाईरसको नियन्त्रणमा प्रदेश सरकार सम्वेदनशिल रहेकाले निजी क्षेत्रलाई पनि सम्वेदनशिल हुन आग्रह गरे ।
मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव मुकुन्द निरौलाले उद्योग/व्यवसायको समस्या समाधानमा सक्दो सहयोग गर्ने धारणा राखे ।
प्रमुख सचिव भट्टराईलाई स्वागत गर्दै उद्योग संगठनका अध्यक्ष भीम घिमिरेले कोरोना भाईरसको त्रासले उद्योग÷व्यवसाय क्षेत्रको अवस्था जटिल बन्दै गएकाले सरकार र निजी क्षेत्र सम्वेदनशिल भई व्यवस्थापन गर्नु पर्ने आवश्यकता औल्याए ।
विद्युत प्राधिकरणले महशुल वृद्धि गर्न लागेको प्रति ध्यानाकर्षण गराउँदै उनले यस्तो जटिल अवस्थामा सर्वसाधारणलाई आर्थिक भार पर्ने गरी विद्युत महशुल नबढाउँन पहलका लागि प्रदेश सरकारलाई आग्रह गरे ।
कार्यक्रममा संगठनका पूर्व अध्यक्ष अशोक मुरारका र उपाध्यक्ष राकेश सुरानाले बिधुत महसुल बढेमा उद्योग/व्यवसाय क्षेत्रको प्रतिष्प्रधात्मक क्षमतामा ह्रास आउँने भएकाले अहिलेको जटिल अवस्थालाई ध्यानमा राखेर महसुल बढाउँने निर्णयलाई सरकारले पूर्नविचार गर्नुपर्नेमा जोड दिए ।















