काठमाडौं । सरकारले भूकम्पपीडितका लागि दिइने अनुदानसम्बन्धी समयसीमामा झनै लचकता देखाएको छ । भूकम्पपछिको पुनर्निर्माणको क्षेत्रमा काम गर्दै आएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान लिने समयसीमालाई पुनः थप विस्तार गर्दै सहजता प्रदान गरेको हो ।भूकम्पप्रभावित लाभग्राही तथा जनप्रतिनिधिको अनुरोध र सुझावलाई आधार मानेर प्राधिकरणले निजी आवास पुनर्निर्माण तथा प्रबलीकरण अनुदान लिने समयसीमा थप गरेको हो ।

Advertisement

नयाँ समयसीमाअनुसार छुट तथा पुनः जाँच सर्वेक्षण २०७५/०७६ बाट लाभग्राही कायम भएकाहरू, प्राधिकरणबाट २०७६ मंसिरपश्चात् कायम भएका जोखिम तथा भूमिहीन लाभग्राहीले २०७६ चैत्र मसान्तसम्म सम्झौता गरी पहिलो किस्ता लिन पाउने भएका छन् । प्राधिकरणका अनुसार अनुदान सम्झौता गर्न बाँकी वा अनुदान सम्झौता गरी पहिलो किस्ता लिन बाँकी लाभग्राहीले सम्बन्धित स्थानीय तहको सिफारिसमा पुनर्निर्माण जिल्ला सहजीकरण समितिको निर्णयअनुसार २०७६ चैत मसान्तसम्ममा अनुदान सम्झौता गरी पहिलो किस्ता लिनुपर्नेछ । यसरी लाभग्राही भएका एवं २०७६ माघ मसान्तभित्र पहिलो किस्ता लिएका लाभग्राहीले आगामी २०७७ असार मसान्तसम्मा दोस्रो किस्ता लिनुपर्ने समयसीमा तोकिएको छ ।

प्राधिकरणले सबै लाभग्राहीले निजी आवास पुनर्निर्माणको तेस्रो एवं अन्तिम किस्ता लिने समयसीमा २०७७ मंसिरमसान्तसम्म पु¥याएको छ ।
यसअघि, प्राधिकरणले निजी आवास पुनर्निर्माण लाभग्राहीमा समावेश भएका भूकम्पपीडितलाई पहिलो किस्ता लिने समयावधि पुस मसान्तसम्म तोकेको थियो । प्राधिकरणका अनुसार लाभग्राहीमा कायम भई हालसम्म अनुदान सम्झौता नगरेका र पहिलो किस्ता नलिएका निजी आवास पुननिर्माण गर्न इच्छुक लाभग्राहीले आ–आफ्नो स्थानीय तहको सिफारिसमा जिल्ला पुनर्निर्माण सहजीकरण समितिबाट निर्णय गराई पुस मसान्तभित्र पहिलो किस्ता लिई सक्नुपर्ने समयसीमा निर्धारण गरेको थियो ।

२०७६ कात्तिक मसान्तभित्रमा दोस्रो किस्ता नलिएकाहरूले आफ्नो स्थानीय तहको सिफारिसमा जिल्ला पुनर्निर्माण सहजीकरण समितिको निर्णयअनुसार माघ मसान्तसम्म दोस्रो किस्ता लिनुपर्ने र २०७७ असार मसान्तभित्र तेस्रो किस्ता लिनुपर्ने समयसीमा तोकेको थियो । प्राधिकरणले एकीकृत बस्तीका लाभग्राही, जोखिम क्षेत्रका लाभग्राही, भूमिहीन लाभग्राही, जोखिम वर्गका लाभग्राही, काठमाडौं उपत्यकाका लाभग्राही, छुट तथा पुनः जाँच सर्वेक्षण २०७५÷७६ बाट कायम भएका लाभग्राही र प्रबलीकरण लाभग्राहीलाई भने माघ मसान्तसम्म पहिलो किस्ता लिने अवधि तोकिएको थियो । उनीहरूका लागि दोस्रो किस्ता वैशाखसम्म र तेस्रो किस्ता २०७७ असार मसान्तसम्मको अवधि तोकिएको थियो ।

प्राधिकरणले पहिलो किस्ता, दोस्रो किस्ता र तेस्रो किस्ता लिने समयवधि थप गरेको हो । जसअन्तर्गत मंसिर २०७७ सम्म अन्तिम समयसीमा तोकेको छ । प्राधिकरणले असार मसान्तसम्म निजी आवासको काम सम्पन्न गर्ने लक्ष्य राखेकामा त्यसको समयसीमासमेत लम्बिएको छ ।
सरकारले भूकम्पप्रभावित पुनर्निर्माण लाभग्राहीले निजी आवास बनाउन तीन किस्तामा ३ लाख रुपैयाँ र प्रबलीकरण लाभग्राहीले आंशिक क्षति पुगेको घर प्रबलीकरण गर्न दुई किस्तामा १ लाख रुपैयाँ अनुदान पाउँदै आएका छन् । -टेनिस रोकाले लेखेको यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!