
धनकुटा । पूर्वी नेपालको पर्यटकीय स्थल भेडेटारबाट व्यवसायीक रुपमा जिपलाइन सञ्चालन गर्ने तयारी भएको छ । शनिवार मुख्यमन्त्री शेरधन राईले यसको उद्घाटन गर्ने कार्यक्रम छ ।
जिपलाइनको परीक्षण सफल भएको सञ्चालक वल्र्ड वाइड ग्रुप नेपाल प्रा.लि.ले जनाएको छ । कानुनी प्रक्रियादेखि सम्पुर्ण तयारी पुरा भई परीक्षण पनि सफल भएकाले औपचारिक उद्घाटन गर्न लागिएको सञ्चालक केदारबहादुर थापाले बताए ।
भेडेटारबाट धरानको देवीथानसम्म ६ सय ५० मिटर लम्बाइको जिपलाईन तीन करोडको लागतमा निर्माण गरिएको हो । जिपलाईनमा ३० देखि ४० सेकेण्डसम्म साहसिक पर्यटकले अनुभव लिन सक्नेछन् ।
जिपलाइनमा क्लासिक, सुपरम्यान र कपल जिपलाइनको व्यवस्था छ । क्लासिकमा एक्लै झुण्डिएर, सुपरम्यानमा सुतेर र कपल जिपलाईनमा दुई जना अंगालो मारेर खेलिन्छ । उद्घाटनपछि दैनिक २ सय जनालाई जिपलाईन खेलाउँने सञ्चालकको लक्ष्य छ ।















