गोमा ढुंगाना/संगालोखबर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले नगरक्षेत्रका जेष्ठ नागरिकलाई निःशुल्क दाँत लगाईदिने भएको छ । नगरपालिका स्थापना दिवसको अवसर पारेर चैत १ देखि ३ गतेसम्म ‘जेष्ठ नागरिक दन्त उपहार कार्यक्रम’ सञ्चालन गर्न लागिएको हो ।

Advertisement

तीन दिनसम्म कार्यक्रम सञ्चालन गरी ६० बर्ष माथिका बृद्धबृद्धाहरुलाई निःशुल्क सेट तथा खुद्रा दाँत लगाईने महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले जानकारी दिए । उनका अनुसार जेष्ठ नागरिक बाहेक अरुलाई दाँत निकाल्ने र परामर्श सेवा उपलब्ध गराईनेछ ।

गत बर्ष भएको दन्त उपहार कार्यक्रम । फाईल तस्वीर

सामाजिक विकास मन्त्रालयसँगको सहकार्यमा पूर्वाञ्चल डेन्टल हस्पिटलको प्राबिधिक सहयोग लिएर जितपुर प्राथमिक स्वास्थ्य केन्द्रमा दन्त उपहार कार्यक्रम गर्न लागिएको हो ।

महालक्ष्मी नगरपालिकाले गत बर्ष पनि यो कार्यक्रम सञ्चालन गरी १ सय ३२ जना बृद्धबृद्धाको पुरै सेट दाँत लगाएको थियो । ५ सय ५० भन्दा बढीको दाँत लगाएर दुई हजार भन्दा बढीलाई दन्तसेवा उपलब्ध गराएको नगरपालिकाले यसको प्रभावकारीता देखेर यस बर्ष पनि कार्यक्रमलाई निरन्तरता दिन लागेको हो ।

चुनावको बाचा पुरा गर्दै मेयर नेपाल

फाईल तस्वीर

चुनावका बेला व्यक्त गरिएको प्रतिवद्धता पुरा गर्दै सेवाको प्रभावकारीता हेरेर ‘जेष्ठ नागरिक दन्त उपहार कार्यक्रम’ लाई निरन्तरता दिईएको मेयर नेपालले बताए । ‘चुनावका बेला गाउँ पुग्दा दाँत नभएका कारण बृद्धबृद्धाले मकै खाँन नसकेको देखेपछि मैले निःशुल्क दाँत लगाईदिने प्रतिवद्धता जनाएको थिए ।’ मेयर नेपालले भने ‘पोहोरको कार्यक्रम पनि प्रभावकारी भयो । त्यसैले बृद्धबृद्धलाई सहजताका लागि यो बर्ष पनि दन्त उपहार कार्यक्रम गर्न लागेका हौंं ।’

अहिले बिभिन्न पालिकाहरुले दन्त उपहार कार्यक्रम गर्दै आएका छन् । तर, नगरपालिकाहरु मध्ये नेपालमै पहिलो पटक महालक्ष्मीमा गत बर्षबाट यो कार्यक्रम सञ्चालन गरिएको महालक्ष्मी नगरपालिकाको दावी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!