
धनकुटा । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै बुधबार साँझ धनकुटामा दीप प्रज्वलन गरिएको छ । नेकपा निकट बिद्यार्थी संगठन अनेरास्ववियू र राष्ट्रिय युवा संघ नेपालको अगुवाईमा दीप प्रज्वलन गरिएको हो ।
मदनचौकमा भएको दीप प्रज्वलनमा बिद्यार्थी र युवा संघका पदाधिकारीसहित पार्टीका नेता, कार्यकर्ता तथा सर्वसाधरणहरु सहभागि थिए । सडकमा राष्ट्रिय झण्डाको आकृति बनाएर प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्वलन गरिएको हो ।
दीप प्रज्वलनका क्रममा प्रधानमन्त्री ओलीको तस्वीरसहित ‘प्रिय प्रधानमन्त्री देश तपाईको मन्द मुस्कानको प्रतिक्षामा छ’ लेखिएको व्यानर पनि राखिएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका ओलीको बुधबार मृगौला प्रत्यारोपण गरिएको छ । प्रत्यारोपण सफल भएको र ओलीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको त्रिवी शिक्षण अस्पतालले जनाएको छ ।















