
धनकुटा । चौबिसे गाउँपालिकाले होटल व्यवस्थापन र विज्ञान संकायमा कक्षा–११ र १२ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । जिल्लाको एक मात्र होटल म्यानेजमेन्ट पढाई हुने राजारानी स्थित पुण्य माविमा कक्षा–११ मा अध्ययनरत १० जना र कक्षा–१२ मा अध्ययनरत ५ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो ।
प्रति बिद्यार्थी ३० देखि ४० हजारसम्मका दरले छात्रवृत्ति वितरण गरिएको चौबिसे गाउँपालिकाको शिक्षा शाखाका ज्ञानेन्द्र राईले बताए ।बिद्यार्थीहरुलाई प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेशसभा सदस्य निरन राई र विनादेवी राईले चेक हस्तान्तरण गरे ।
दक्ष जनशक्ति उत्पादन गर्न गाउँपालिकाले गत वर्षदेखि विज्ञान र होटल व्यवस्थापन पढ्ने विद्यार्थीलाई पढाईमा लाग्ने खर्च बराबरको छात्रवृत्ति वितरण गर्दै आएको गाउँपालिका अध्यक्ष खजिन्द्र राईले जानकारी दिए ।
गाउँपालिकाले शैक्षिकस्तर सुधार्न गत वर्षदेखि गाउँपालिका भर कार्यरत स्थानीय सरकारी कर्मचारीले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनु पर्ने नियम तोकेको छ ।
त्यस्तै हरेक विद्यालयमा ई–हाजिरी सुरु गर्नुका साथै केही विद्यालयमा सीसी क्यामेरा पनि जडान गरिएको छ । चौबिसे गाउँपालिकामा ३१ प्राथमिक, ५ आधारभुत र १० माध्यमिक गरी ४६ वटा विद्यालय छन् ।















