
धनकुटा । लामो समयको रस्साकस्सी पश्चात अन्ततः कांग्रेस उम्मेद्वार बिजय सन्तोषी राई उद्योग बाणिज्य संघ धनकुटाको अध्यक्ष बन्ने निश्चित भएको छ । संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन प्रकृयामा अध्यक्ष पदका लागि कांग्रेस जिल्ला सचिव राईको मात्र उम्मेद्वारी दर्ता भएपछि अध्यक्ष बन्ने पक्का भएको हो ।
१९ पदका लागि भएको निर्वाचनमा ८ पदाधिकारी र ११ सदस्य पदमा एक÷एक जनाको मात्र उम्मेद्वारी दर्ता भएकाले सवै उम्मेद्वार निर्वाचित हुँने निश्चित भएको निर्वाचन समिति सदस्य खगेन्द्र घिमिरेले संगालोखबरलाई जानकारी दिए । यद्यपी निर्वाचन तालिका अनुसार निर्वाचित पदाधिकारी र सदस्यको नामावली भने सोमबार ४ बजे पछि मात्र घोषणा गरिने घिमिरेले बताए ।
समितिको बरिष्ठ उपाध्यक्षमा तारा तितुङ, उपाध्यक्षमा कृष्णराज श्रेष्ठ, खगेन्द्रकुमार बिष्ट, महिला उपाध्यक्षमा निर्मला राई श्रेष्ठ, महासचिवमा रामबहादुर तामाङ गोङ्वा, सचिवमा रामबहादुर राय र कोषाध्यक्षमा रुपेश श्रेष्ठको एकल उम्मेद्वारी छ ।
त्यस्तै सदस्यहरुमा अम्विका धमला, रेजिना पलिसे, सुनिता थापा पौडेल, नगेन्द्र काफ्ले, नविन श्रेष्ठ, महेन्द्र थापा, राम तामाङ, उज्वल कर्माचार्य, दिजेश शाक्य, देवीबहादुर वि.क. र भीमबहादुर खेवा लिम्बुले एकल उम्मेद्वारी दर्ता गरेका छन् । सवै पदमा एक÷एक जनाको मात्र उम्मेद्वारी रहेकाले सवै उम्मेद्वार सर्वसम्मत निर्वाचित हुँने निश्चित भएको हो ।
नेकपा र कांग्रेसबीच भागबन्डा
निर्वाचनमा लफडा हुँदा यसअघि संघको कार्यालयमा ८१ दिन तालाबन्दी भएको थियो । अन्ततः नेकपा र कांग्रेसबीच भागबन्डा मिलेपछि तालाबन्दी खोलेर संयुक्त प्यानल बनाई निर्वाचन गरिएको हो ।
जसअनुसार कांग्रेसले अध्यक्षसहित ९ जना र नेकपाले बरिष्ठ उपाध्यक्षसहित १० जना पदाधिकारी तथा सदस्य पाएको छ । अव हुँने मनोनित ५ सदस्यमा पनि कांग्रेस ३ र नेकपाले २ सदस्य पाउँने गरी भागबन्डाको लिखित सहमति भएको स्रोतले जनाएको छ ।















