
पाँचथर । तमोर नदीको पानीलाई १७ किलोमिटर माथि डाँडामा पुर्याई गाउँगाउँमा वितरण गर्नु सामान्य कुरा थिएन । प्रविधिको उपयोगले जब यो कार्य सार्थक भयो, नागरिकका घरघरमा खानेपानी पुग्यो । खानेपानीको अभावमा काकाकुल बनेका स्थानीयवासीको मुहारमा खुशी छायो । घरैमा खानेपानीको उपलब्धताले आफ्नै गाउँघरमा बस्न पाइने भएपछि स्थानीयवासी खुशी भएका छन् ।
पाँचथरमा जनताका न्यूनतम आवश्यकताअन्तर्गत पर्ने खानेपानी र विद्युत्को प्रत्याभूतिको घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन ११ गते तेह्रथुमको आठराई र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकावासीको प्रत्यक्ष जीवनसँग जोडिएको सुकेपोखरी–प्रणामी मावि–भानु आधारभूत विद्यालय सडकको शिलान्यास गरेका थिए ।
कूल नौ किमी सडक रु ५४ करोडको लागतमा कालोपत्र गर्ने ठेक्का भएकामा पछि यस सडकलाई मदन भण्डारी मार्गसँग जोड्ने प्रधानमन्त्रीले घोषणा गरेका थिए । सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले जन्मदिन मनाउन मात्रै तेह्रथुम पुगेको प्रचार गरिए पनि स्थानीयवासीमा प्रधानमन्त्रीको आगमन र थालनी भएका विकासनिर्माणका कामले उत्साहित छन् ।
प्रधानमन्त्री ओलीले यही फागुन ११ गते रु ५१ करोड ३० लाखको लागतमा यासोक बृहत् पम्पिङ खानेपानी आयोजनाको उद्घाटन गरेका थिए । आफ्नो जन्मदिनका दिन प्रधानमन्त्रीका लागि अर्को खुशी थियो, एक हजार ११५ घरमा पुगेको विद्युत्को उद्घाटन । कुम्मायक गाउँपालिकामा पर्ने साबिकका यासोक, स्यावरुम्बा र रानीगाउँ गाविसलाई अँध्यारोमुक्त घोषणा गर्दै प्रधानमन्त्रीले आफ्नो जन्मोत्सव मनाउने अवसर पाए ।















