
धनकुटा । खोकु–छिन्ताङ–आँखिसल्ला हत्याकाण्डका सहिद परिवारले ४० वर्षपछि बुधबार राज्यको तर्फबाट राहत पाएका छन् । २०३६ सालमा हत्या गरिएका १६ व्यक्तिका परिवारलाई प्रदेश नम्बर १ सरकारले राहत उपलब्ध गराएको हो ।
सहिदभूमी गाउँपालिकाको छिन्ताङ स्थित सहिद पार्कमा कार्यक्रम गरी मुख्यमन्त्री शेरधन राईले प्रति परिवार पाँच लाखका दरले राहत वितरण गरेका हुन् ।
सहिद पुत्रमान थुलुङ राई, गोपाल आनन्द राई, रणध्वज पुमा राई, लाखमान साधु राई, गम्भीरमान दमाई, टंकबहादुर विश्वकर्मा, धनवीर दर्जी, गंगाबहादुर तुप्रिहाङ राई, चन्द्रबहादुर दर्जी, रामकुमारी राई, भैरबबहादुर खालिङ राई, बलबहादुर खत्री, केशरमान राई, गणेशबहादुर विश्वकर्मा, श्रीमाया राई र झगेन्द्र राईको परिवारलाई राहत प्रदान गरिएको हो ।
प्रदेश सरकारले यसअघि गरेको निर्णय बमोजिम सहिद परिवारलाई राहत प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी डा.कृष्णबहादुर घिमिरेले बताए । कम्युनिष्ट पार्टीमा लागेको भन्दै तत्कालिन पञ्चायती सरकारले सुत्केरी महिलासहित १६ जनालाई भीरबाट लडाएर, गोली हानेर र नदीमा बगाएर हत्या गरेको थियो ।
उनीहरुलाई सरकारले २०७४ पौष २८ गते राष्ट्रिय सहिद घोषणा गरेको हो । ढिलै भएपनि राज्यको तर्फबाट राहत पाउँदा खुशी लागेको सहिद परिवार संरक्षण समितिका अध्यक्ष एवम् सहिदपुत्र बलराम राईले बताए । ‘यो राहत पर्याप्त त छैन । तरपनि राज्यले सम्झेकोमा खुशी छौं ।’
सहिदका छोराछोरीलाई निःशुल्क उच्च शिक्षा, सहिद परिवार एकिकृत वस्ती निर्माण, र एक सहिद परिवार एक रोजगारको व्यवस्था गर्न सहिद परिवारले माग गर्दै आएका छन् ।















