- सन्तोष रुचाल/संगालोखबर

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–२ मुढेवासमा सञ्चालित तीन दिने निःशुल्क आँखा शिविरबाट चार सय भन्दा बढी बिरामी लाभान्वित भएका छन् । मुढेवास स्वास्थ्य चौकीमा सञ्चालित शिविरमा धनकुटा र पाँचथरका ४ सय १३ जनाले सेवा लिएका हुन् ।

Advertisement

शिविरमा २२ महिला र २६ पुरुष गरी ४८ जनाको आँखाको शल्यक्रिया गरिएको वडाध्यक्ष ममिन्द्र लिम्बूले जानकारी दिए । उनका अनुसार ५ जनाको आँखामा मासु पलाएको र बाँकीको मोतियाविन्दुको शल्यक्रिया गरिएको हो । शल्यक्रिया गर्नु नपर्ने बिरामीलाई आँखा परिक्षण गरी औषधी वितरण गरिएको छ ।

चौबिसे गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित शिविरमा नेत्र ज्योति संघ धनकुटा रामप्रसाद पोखरेल आँखा अस्पतालका डाक्टरले बिरामीको आँखा परिक्षण गरेका थिए । शल्यक्रिया गरिएका बिरामीलाई आवत–जावत र बसोबासको व्यवस्था गाउँपालिकाले मिलाएको थियो ।

आँखाको समस्याबाट पीडित चौबिसे–३ की ६३ वर्षीया दलमाया लिम्बूले आँखाको निःशुल्क शल्यक्रिया गराउँन पाउँदा धेरै राहत मिलेको भन्दै खुशी व्यक्त गरिन् । दुबै आँखा नदेख्ने लिम्बूले शल्यक्रिया पछि नयाँ जीवनको अनुभूती भएको सुनाईन् । उनले भनिन्–‘यस्ता शिविर आउँने दिनमा संचालन भए म जस्ता धेरैले नयाँ जीवन पाउने थिए ।’

दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिकले सामान्य उपचार नपाउँदा समस्या झेल्नुपर्ने बाध्यता रहेकाले त्यसलाई मध्यनजर गर्दै शिविर गरिएको गाउँपालिका अध्यक्ष खजिन्द्र राईले बताए ।

गरिब, विपन्न र दुर्गम क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई लक्षित गरी आगामी दिनमा अन्य क्षेत्रमा पनि शिविर संचालन गरिने चौबिसे गाउँपालिकाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!