
धनकुटा । प्रदेश नम्बर १ का प्रदेश प्रमुख सोमनाथ अधिकारीले विद्यालयहरुलाई प्रविधिमैत्री बनाउँदै शैक्षिकस्तर बृद्धी गर्नुपर्ने बताएका छन् । महालक्ष्मी नगरपालिका–३ डाँडागाउँ स्थित नबिन शिक्षा सदन माध्यमिक विद्यालय ६० बर्ष पुगेको अवसरमा आयोजित हीरक महोत्सवलाई संबोधन गर्दै उनले यस्तो बताएका हुन् ।
समाज बिकासमा शिक्षाको ठुलो महत्व हुने भन्दै प्रदेश प्रमुख अधिकारीले विद्यालयमा हुने पढाई प्रविधिमैत्री र समाज सुहाउँदो हुनुपर्ने धारणा राखे ।
स्थानीय सरकारको सक्रियतामा गाँउ–गाँउमा विकासको सकारात्मक लहर आउदै गएको बताउँदै अधिकारीले जनताका दैनिक जीविकाको सवालमा जनप्रतिनिधिहरु संवेदनशिल भएर लाग्नुपर्ने आवश्यकता औल्याए ।

कार्यक्रममा प्रदेश सांसद ईन्द्रमणी पराजुली, प्रमुख जिल्ला अधिकारी डा.कृष्णबहादुर घिमिरे, जिल्ला समन्वय समिति प्रमुख टंक चुवान, महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपाल, उप–प्रमुख मञ्जु अधिकारी लगायतले विद्यालयले शिक्षाको क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।















