
धनकुटा । माघे संक्रान्तिको अवसरमा धनकुटाको पाख्रीवास–७ मुगामा भएको गोरु जुधाई प्रतियोगितामा सानो भाई नामक गोरु बिजयी भएको छ । पाख्रीवास नगरपालिका–१० चुम्बाङका राजकुमार गिरीको गोरु बिजयी हुँदै २५ हजार पुरस्कार जितेको हो ।
प्रगतिशिल युवा समाज पाख्रीवासको आयोजनामा भएको प्रतियोगितामा आठ हल गोरु जुधाईएको थियो । प्रतियोगितामा १५ वटा गोरुलाई हराउँदै सानो भाई गोरु बिजयी बनेको हो । त्यस्तै पाख्रीवास–८ का मसुर राईको जवाने गोरु दोस्रो भएको छ भने पाख्रीवास–७ का धनबहादुर विश्वकर्माको तारे गोरु तेस्रो भएको आयोजक समाजका सचिव शंकर बराईलीले बताए ।
दोस्रो र तेस्रो हुँने गोरुले क्रमशः १० हजार र ५ हजार पुरस्कार जितेका छन् ।पाख्रीवास नगरपालिकाका प्रमुख विर्षबहादुर राईले बिजयी गोरुलाई फुलमाला लगाई गोरु धनीलाई नगद वितरण गरेका थिए ।
दावाले जिते पोल चढाईको उपाधि
माघे संक्रान्तिको अवसरमा गोरु जुधाईसँगै पोल चढाई प्रतियोगिता पनि गरिएको छ । ५० जना सहभागी प्रतियोगितामा पाख्रीवास–९ का दावा तामाङ बिजयी हुँदै दुई हजार पुरस्कार जितेका छन् ।
माघे संक्रान्तिको अवसरमा मेलासहित प्रतियोगिता गरिएको हो । सो अवसरमा स्थानीय किराँत समुुदायको ढोल नाच, तामाङ्ग समुदायको तामाङ्ग सेलो र मारुनी, संगीनी लगायत नाच प्रस्तुत गरिएको थियो ।
पाख्रीवासमा गत बर्षदेखि गर्न थालिएको गोरु जुधाई प्रतियोगिता अव हरेक वर्ष संचालन गरिने आयोजक समितिका सचिव बराईलीले बताए । उनका अनुसार आगामी बर्ष खेललाई अझै विस्तार गर्दै कवर्दी, कुस्ती लगायत प्रतियोगिता पनि गरिनेछ ।















