इटहरी । अनुयायी बलात्कार आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले सिद्धबाबालाई तीन लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
सोमबार जिल्ला अदालतलमा भएको थुनछेक बहसपछि न्यायाधीश उप्रेतीको इजलासले यस्तो आदेश दिएको हो । अदालतको आदेशसँगै अव सिद्धबाबा रिहाई हुँने भएका छन् । आइतबारदेखि सुरु भएको थुनछेक बहसमा बादीेतर्फबाट ८ जना र प्रतिवादी तर्फबाट ६ जना वकिलले बहस गरेका थिए ।
इजलाशमा बहस चलिरहदा अदालत परिसर बाहिर गिरीका अनुयायीहरूले रामनाम भजन गरिरहेका थिए । उनका अनुयायीहरुले सिद्धबाबा निर्दोश रहेको दावी गर्दै आएका छन् । यता, उजुरी गर्ने महिला पक्षले भने सिद्धबाबामाथि कारबाहीको माग गरिरहेका छन् । यसअघि उनको पक्ष र बिपक्षमा प्रदर्शन भएको थियो ।
२९ वर्षीया महिलाले आफूलाई सिद्धबाबाले ‘करणी’ गरेको भन्दै उजुरी दिएपछि प्रहरीले बिराटनगरको एक अस्पतालको आईसीयूबाट उनलाई नियन्त्रणमा लिएर अदालतमा उपस्थित गराएको थियो । उनलाई अक्सिजन लगाएकै अवस्थामा एम्बुलेन्समा राखेर अदालत पुर्याईएको थियो ।
यता, सिद्धबाबाले आरोप अस्वीकार गर्दै आएका छन् । उनले आफुलाई फसाउँने सड्यन्त्र भएको प्रतिक्रिया दिएका छन् । आफुले देश र जनताकालागि आरम्भ गरेको मानवहित, हरित राष्ट्र निर्माण, कृषि विकास र बहुमूल्य जडिबुटी संरक्षणको अभियानलाई तुहाउने प्रयत्नस्वरुप आफुमाथि सुनियोजित षड्यन्त्र भएको उनको दावी छ ।