- सन्तोष रुचाल/संगालोखबर

खोकु छिन्ताङ दुख्यो कि, अरुण सुसाउँदा,
मन सबको रुन्छ कि, दुःख बिसाउँदा ।
अन्धकारमा बन्दुकहरु पड्किएको बेला,
छाती भित्र संगिनहरु गाडिएको बेला….

Advertisement

गायक किशोर थुलुङको यो गीत गुञ्जिदा धनकुटाको खोकु, छिन्ताङ र आँखिसल्लाबासी ४० बर्ष अघिको कालो दिन संझन्छन् । वास्तविक घटनामा आधारित यो गीतले २०३६ सालको ‘छिन्ताङ हत्याकाण्ड’ को याद दिलाउँछ । सहिदहरुको आलो रगतको अतितले जो कोहिको मन पोल्छ । कात्तिक महिनाको अन्तिम आउँदा हरेक बर्ष खाल्साबासी स्तव्ध बन्छन् ।

किनकी ४ दशक अघि अर्थात ०३६ कात्तिक २७ देखि २९ गतेको तीन दिनवीचमा खाल्सा क्षेत्रले १६ जनालाई गुमायो । सरकार कै निर्देशनमा भएको ‘हत्या काण्ड’ ले कत्तिको सिउँदो पुछियो, कत्तिको काख रित्तियो । कोहि टुहुरो बने, धेरैले आफन्त गुमाए ।

खाल्सा क्षेत्रलाई नै शोकमा डुवाउँने गरी भएको ‘छिन्ताङ हत्याकाण्ड’ को ४० बर्ष पुरा भएको छ । यसवीचमा सरकारले १६ जनालाई नै सहिद घोषणा गर्यो । केहि दिन अघि प्रदेश सरकारले पनि सहिद परिवारलाई प्रति परिवार ५ लाखका दरले राहत रकम प्रदान गर्ने निर्णय गरेको छ । आफन्त गुमाएका सहिद परिवारलाई राहत रकमको घोषणाले केहि खुशी तुल्याएको छ । तर, सन्तुष्ट बनाउँन सकेको छैन ।

सहिद परिवारद्वारा निःशुल्क शिक्षा, रोजगारी र एकीकृत बस्तीको माग

सहिद परिवारलाई राहत दिने घोषणा राम्रो भएपनि पर्याप्त नभएको सहिद परिवार संरक्षण समितिका अध्यक्ष एवम् सहिद पुत्रमान थुलुङ राईका छोरा बलराम राई बताउँछन् । ‘यो राहत पर्याप्त त छैन । तर पनि राज्यले सम्झेकोमा हामी खुशी छौं ।’ उनले थपे–‘यति राहत दिएर मात्र सहिदको सम्मान हुन सक्दैन । कम्तीमा सहिदका छोराछोरीलाई उच्च शिक्षासम्म निःशुल्क अध्ययन गर्ने व्यवस्था राज्यले गर्नु प¥यो । सहिद परिवार एकिकृत वस्ती निर्माण गर्नु पर्छ । एक सहिद परिवार एक रोजगारको व्यवस्था गर्नु पर्छ । अनि मात्र सहिद परिवारको दुखेको घाउमा मलपट्टी लाग्न सक्छ ।’

पञ्चायती व्यवस्थाको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सहिदले खेलेको भूमिकाको सम्मान स्वरुप सरकारले सहिद परिवारको माग पुरा गर्नुपर्ने उनको भनाई छ । तत्कालिन पञ्चायती सरकारले कम्युनिष्ट पार्टीमा आस्था राखेको आरोपमा तीन दिनको सुत्केरीसहित १६ जना सर्वसाधारणलाई भीरबाट लडाएर, गोली हानेर र नदीमा बगाएर हत्या गरेको थियो ।

हत्या गरिएकाहरुमा सहिदभूमि गाउँपालिकाका पुत्रमान थुलुङ राई, गोपाल आनन्द राई, रणध्वज पुमा राई, लाखमान साधु राई, गम्भीरमान दमाई, टंकबहादुर विश्वकर्मा, धनवीर दर्जी, गंगाबहादुर तुप्रिहाङ राई, चन्द्रबहादुर दर्जी, रामकुमारी राई, भैरबबहादुर खालिङ राई, बलबहादुर खत्री, केशरमान राई, गणेशबहादुर विश्वकर्मा, श्रीमाया राई र झगेन्द्र राई छन् ।

सहिदको सपना सरकारले पुरा गर्छ : उपप्रधानमन्त्री पोख्रेल

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले सहिदहरुको त्याग र बलिदानका कारण मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै सहिदहरुको अधुरो सपना सरकारले पुरा गर्ने बताएका छन् ।

४१ औं सहिद स्मृति दिवसको अवसरमा नेकपा धनकुटाले छिन्ताङ पञ्चकन्या स्थित सहिद पार्कमा आयोजना गरेको सहिद स्मृति सभा एवम् सहिद परिवारलाई राहत घोषणा कार्यक्रमलाई संबोधन गर्दै मन्त्री पोख्रेलले यस्तो बताएका हुन् ।

सहिद परिवारको सम्मानमा संघीय सरकारले बृहत छलफल गरिरहेको बताउँदै मन्त्री पोख्रेलले अव चाँडै देशभरीका सहिद परिवारको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले सहिदको सम्मानमा छिन्ताङ हत्याकाण्डका १६ सहिद परिवारलाई प्रति परिवार ५ लाखका दरले राहत वितरण गर्ने घोषणा गरे । केहि दिन अघि बसेको मन्त्रीपरिषद् बैठकले सहिद परिवारलाई राहत दिने निर्णय गरेको बताउँदै मुख्यमन्त्री राईले अब चाँडै बृहत कार्यक्रम गरेर सहिद परिवारलाई राहत वितरण गरिने बताए ।

सहिदहरुको बलिदानका कारण मुलुकमा संघीयता स्थापना भएको स्मरण गर्दै मुख्यमन्त्री राईले सहिदहरुको अधुरो सपनालाई नेकपा नेतृत्वको सरकारले पुरा गर्ने प्रतिबद्धता पनि जनाए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!