धनकुटा । उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोख्रेल शुक्रबार धनकुटाको सहिदभूमी गाउँपालिका स्थित छिन्ताङ पुगेका छन् । नेकपा धनकुटाले छिन्ताङ स्थित सहिद पार्कमा आयोजना गरेको सहिद स्मिृति दिवस कार्यक्रमको उद्घाटनका लागि मन्त्री पोख्रेल आएका हुन् ।
कार्यक्रमका लागि मन्त्री पोख्रेलसँगै मुख्यमन्त्री शेरधन राई लगायत नेकपाका दर्जनौं नेताहरु छिन्ताङ पुगेको नेकपाका जिल्ला सचिव ऋषिराम ढुंगानाले जानकारी दिए । २०३६ सालमा भएको ‘छिन्ताङ हत्याकाण्ड’ मा तत्कालिन छिन्ताङ र आँखिसल्ला गाबिसका १६ जनाको हत्या भएको थियो । उनीहरुलाई सरकारले सहिद घोषणा गरेको छ ।
सहिदको संझनामा हरेक बर्ष कात्तिक अन्तिम साता सहिद स्मिृति सप्ताह मनाईदै आएको छ । यसअघि तत्कालिन एमाले र माओवादीले सहिद पार्कमा छुट्टा–छुट्टै कार्यक्रम गर्दै आएका थिए । पार्टी एकता पश्चात बनेको नेकपाले शुक्रबार सहिद पार्कमा सहिद स्मिृति दिवस बिशेष कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा मन्त्री पोख्रेलसहित नेता कार्यकर्ताहरुले सहिदको शालिकमा माल्यारपण गर्दै सहिदको संझना गरेका छन् ।
कार्यक्रमका लागि नेकपाका सयौं नेता कार्यकर्ता सहिद पार्कमा भेला भए । नेकपा जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरु बिहिबार नै सहिद पार्क पुगेका थिए । जिल्ला कमिटिको चौथो पूर्ण बैठक पनि सहिद पार्कमै बसेको नेकपाले जनाएको छ ।
उपप्रधानमन्त्रीद्वारा बृक्षरोपण
सहिद स्मिृति दिवस कार्यक्रम उद्घाटनका लागि धनकुटा आएका उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोख्रेलले शुक्रबार हिलेमा बृक्षरोपण गरेका छन् । छिन्ताङ जाँने क्रममा बिहान नेपाली सेनाको २ नं.बाहिनी अड्डा हिलेमा मन्त्री पोख्रेलले केहि समय बिताए ।
सोहि क्रममा उनले हिले व्यारेकको निरिक्षण गर्नुका साथै व्यारेक हाताभित्र बृक्षरोपण पनि गरेका हुन् । उपप्रधानमन्त्री पोख्रेलसहित मुख्य मन्त्री शेरधन राई लगायतले पनि बृक्षरोपण गरेका छन् ।