- सन्तोष रुचाल / संगालोखबर

धनकुटा । मगर जातिको भाषा, संस्कृतिको संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यले धनकुटाको चौबिसे गाउँपालिका–१ स्थित सौरे बजारमा दोस्रो हुर्रा महोत्सव गरिएको छ ।

Advertisement

नेपाल मगर संघ वडा कार्यसमितिको आयोजनामा भएको महोत्सवमा जातिय पहिरनमा सजिएका युवा युवतीहरुले मगर जातिको हुर्रा नाच प्रर्दशन गरेका थिए । मगर बाहेक अन्य जातजातिले पनि मगरको भेषभुषामा सजिएर हुर्रा नाचे । हुर्रा नाचमा पाँच वडाका ११ टीम सहभागि भएको नेपाल मगर संघका वडाध्यक्ष दिलबहादुर मगरले जानकारी दिए ।

महोत्सवमा प्रतिनिधिसभा सदस्य राजेन्द्र राईले हरेक भाषा, संस्कृतिको संरक्षण गर्नुपर्ने आवश्यकता औल्याउँदै हुर्रा महोत्सवले मगर जातिको संस्कृति संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

चौबिसे गाउँपालिका अध्यक्ष खजिन्द्र राईले सबै भाषा, संस्कृतिको संरक्षण र सम्बद्र्धनमा गाउँपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

चौबिसे गाउँपालिकाको वडा नं. १ मा करिव ४० प्रतिशत मगर जातिको बसोबास छ । वडा नं. २ को मुढेवास, टोड्के, वडा नं. ३ को सोगुम, वडा नं. ४ को सुरुङ्गी, वडा नं. ८ को बसन्तटारस्थित ठाडागाँउ र आमडाँडामा पनि मगर जातिको बाहुल्यता छ ।

मगर जातिको बाहुल्यता रहेका क्षेत्रमा हरेक वर्ष मुख्यगरी तिहारमा एक हप्तासम्म हुर्रा नाच्दै रमाईलो गर्ने चलन छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!