संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाका राजनीतिक पार्टीहरुलाई अहिले चाडपर्वको चटारो छ । जिल्लाका बिभिन्न स्थानमा दशैं अघिदेखिनै चाडपर्वको शुभकामना आदानप्रदानमा जुटेका दलहरु अहिले पनि त्यस मै व्यस्त छन् ।

Advertisement

दलहरुले बिभिन्न ठाउँमा दशैं, तिहार, छठ, नेपाल सम्वत, उधौली उभौली, मंसिरे चाड, ल्होछार लगायत पर्वको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेका छन् । अन्य दलको तुलनामा सत्ताधारी दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस शुभकामना आदानप्रदानमा बढी व्यस्त देखिन्छन् । प्रमुख दलका जिल्ला तहदेखि, पालिका र वडासमिति पनि शुभकामना आदानप्रदानमा व्यस्त छन् ।

नेकपाले जिल्ला तथा केन्द्रिय स्तरका नेताहरुको उपस्थितीमा जिल्लादेखि पालिका र वडा स्तरसम्मको शुभकामना आदानप्रदान कार्यक्रम गरेको नेकपा जिल्ला सचिव ऋषिराम ढुंगानाले बताए । ‘आफ्नो पार्टी भित्रका मात्र नभई अरु पार्टीका नेताहरुलाई पनि सहभागि गराएर शुभकामना आदानप्रदान कार्यक्रम गरेका छौ ।’ ढुंगानाले भने ।

नेकपा जिल्ला कमिटिले शुक्रबार सदरमुकामको सामुदायिक भवनमा आयोजना गरेको कार्यक्रममा कांग्रेस लगायत अन्य दलका नेताहरु पनि उपस्थित भएर शुभकामना आदानप्रदान गरे । त्यस्तै कांग्रेसले केहि दिन अघि जिल्ला पार्टी कार्यालयमा गरेको कार्यक्रममा पनि अन्य पार्टीका नेता, तथा सांसद भेला भएर शुभकामना साटासाट गरेका थिए ।

भिन्न–भिन्न पार्टी संबद्ध नेता कार्यकर्ताको उपस्थितीमा हुँने गरेका यस्ता शुभकामना आदानप्रदान कार्यक्रमले सहकार्य, सहमति र भातृत्वको वातावरण सृजना गर्न सहयोग पुग्ने कांग्रेस सचिव बिजयसन्तोषी राई बताउँछन् ।

एकले अर्को पार्टीको बिरोधमा समय खर्चिने नेताहरु चाडपर्वको समयमा आपसमा शुभकामना आदानप्रदानमा जुट्दा दलहरुवीच सहकार्यको सकारात्मक संकेत देखिन्छ । तर, दलहरुवीच चाडपर्वमा देखिएको जस्तै सहकार्य बिकास निर्माणका काममा नदेखिदा समस्या निम्तिने गरेको छ ।

चाडपर्वमा जस्तै बिकासका काममा पनि दलहरुवीच सहमति र सहकार्यको वातावरण सृजना भएमा बिकास निर्माणका कामले गति लिने पत्रकार महासंघका जिल्ला अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठको तर्क छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!