संगालोखबर सम्वाददाता

बिराटनगर । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले अत्यन्तै दर्दनाक अवस्थाको बेवारिसे बेहोस बिरामीलाई सिरहाको लहानबाट उद्धार गरेका छन् । लहान नगरपालिका–३ मा बेवारिसे अवस्थामा रहेका बिरामीलाई डा.शर्माले उद्धार गरेर नोबल अस्पताल ल्याई आईसियूमा राखेर निःशुल्क उपचार गराईरहेका छन् ।

Advertisement

लहान अस्पताल नजिक भेटिएका करिव ४० बर्षीय वेवारिसे पुरुषको अवस्था अत्यन्तै दर्दनाक थियो । उनको दाहिने खुट्टाको हड्डी पूर्ण रुपमा भाँचिएर घुँडा भन्दा मुनीको भाग छालाको भरमा मात्र झुण्डिएको छ ।

भाँचिएको खुट्टाको उपचार नपाउँदा घाउमा किरा परेर दुर्गन्ध फैलनुका साथै झिंगाले घेरेको थियो । धेरै दिनदेखि भुँईमा लडिरहेका उनको अवस्था अत्यन्तै दर्दनाक थियो । उठ्न र बोल्नसमेत नसक्ने अवस्थामा रहेका उनलाई उद्धार गरेर नोबेल ल्याईएको हो ।

लहान अस्पतालमा कार्यरत डा.बृजेन्द्र कुमार शाहले बेवारिसे बिरामीको अवस्था डा.सुनिल शर्मालाई जानकारी गराएर उनको उद्धारमा सहयोग गरेका थिए । गंभीर अवस्थामा रहका उनलाई लहान अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि नोबेल ल्याईएको हो ।

‘सुनिल सरले यस्ता धेरै बिरामीलाई सहयोग गर्दै आएको थाहा पाएकाले उहाँलाई जानकारी गराए ।’ डा.शाहले भने ‘उहाँले तत्काल चासो देखाएर वेवारिसे बिरामीलाई उपचारको वातावरण मिलाईदिनुभयो ।’

यता, डा.सुनिल शर्माले आपत र अलपत्र अवस्थामा परेका व्यक्तिलाई सहयोग गर्नु मानवीय कर्तव्य भएकाले सहयोग गरेको प्रतिक्रिया दिएका छन् । उद्धार गरेर ल्याईएका बिरामीलाई नोबेल अस्पतालको भेन्टिलेटरमा राखिएको छ ।

चिकित्सकहरुका अनुसार उनको अवस्था गंभीर छ । समाजसेवामा सक्रिय डा.शर्माले यसअघि पनि यस्ता धेरै बिरामीलाई उद्धार गरिसकेका छन् ।

भिडियो…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!