धनकुटा । चाडपर्वको समयमा यात्रुको सहजताका लागि धनकुटाका दुई स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
यात्रुको अत्याधिक चाप हुँने गरेको दशैं, तिहार र छैठ पर्वमा यात्रुलाई सहज रुपमा गन्तव्यसम्म पुर्याउँन सहयोग गर्ने उद्धेश्यले धनकुटा बसपार्क र हिले बजारमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त प्रयासमा स्थापना गरिएको सहायता कक्षको धनकुटाका प्रमुख जिल्ला अधिकारी डा.कृष्णवहादुर घिमिरे र १ नं प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक भीमवहादुर दाहालले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
उद्घाटनपछि बोल्दै प्रमुख जिल्ला अधिकारी डा.घिमिरे र प्रदेश ट्राफिक प्रहरी प्रमुख दाहालले यात्राका क्रममा हुँने समस्या समाधानका लागि सहायता कक्षको भूमिका महत्वपूर्ण हुँने धारणा राखे ।
यात्रु सहायता कक्षमा प्रहरी र ट्राफिक प्रहरी रहनेछन् । चाडपर्वको समयमा यात्रुसँग बढी भाडा लिने, जोखिमपूर्ण यात्रा गराउँने जस्ता समस्या हुँनाले त्यस्ता समस्या समाधानका लागि सहायता कक्षले यात्रुलाई सहयोग गर्ने धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले जानकारी दिए ।