इलाम । इलामको रोङ गाउँपालिकामा गएराती ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाईते भएका छन् । रोङ गाउँपालिका–१ हिलेपाखा भन्ने ठाउँको भित्रि सडक खण्डमा ट्रक दुर्घटना भएको हो ।
हिलेपाखाबाट तिनघरे इलाम तर्फ बाँस लिएर जाँदै गरेको मे.१ ख.२२५६ नम्बरको ट्रक पल्टिँदा झापाको बुद्दशान्ति गाउँपालिका–५ का ३० बर्षीय रबिन नेपालको मृत्यु भएको प्रहरीले जनाएको छ । ३२ बर्षीय नरेन्द्र खड्का र २५ बर्षीय रमेश चौहान घाईते भएका छन् ।
उकालो सडकमा लोड तान्न नसक्दा ट्रक सडकबाट करिव ७० मिटर तल खसेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट गएको प्रहरी टोलीले घाईतेलाई उपचारका लागि विर्तामोड स्थित बिएण्डसी अस्पताल पठाएको छ ।
ट्रक चालक झापा दमक नगरपालिका–५ का ४० बर्षीय ध्रुब कार्की घटनापछि फरार छन् । उनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।