सन्तोष रुचाल/संगालोखबर

धनकुटा । अविरल बर्षाका कारण सम्पत्ति क्षति भएका पीडित परिवारलाई धनकुटाको महालक्ष्मी नगरपालिकाले नगद तथा जिन्सी सामग्री वितरण गरेको छ । नगर क्षेत्र भित्रका २२ घरपरिवारलाई एक लाख ७० हजार रुपैयाँ राहत वितरण गरिएको महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले बताए ।

Advertisement

पूर्ण क्षति भएकालाई प्रतिपरिवार १० हजार र आंशिक क्षति भएका परिवारलाई प्रतिपरिवार ५ हजारका दरले नगद वितरण गरिएको हो । नगरपालिकाले बाढी पहिरो पीडित ३८ घरपरिवारलाई ३६ थान त्रिपाल, १५ थान जाली र ३ थान कम्बलसमेत वितरण गरेको छ ।

महालक्ष्मी नगरपालिकाले बाढी तथा पहिरो पीडितहरुको दिएको विवरण अनुसार प्रारम्भिक चरणमा ५७ घरपरिवारको सम्पत्ति क्षति भएको छ । ती मध्ये २० घर पूर्ण क्षति, ८ घर आंशिक क्षति र २१ घर जोखिममा रहेको नगरपालिकाका योजना सल्लाहकार कमल कार्कीले बताए ।

पहिरोबाट सिंहेश्वरी मावि आहाले, लालीगुराँस प्रावि मुर्तिढुंगा र पञ्चसिल शिवालय मन्दिर उच्च जोखिममा छ भने देउराली खानेपानी आयोजना महालक्ष्मी नगरपालिका–८ को इन्टेक र एक सय मीटर पाइप पूर्ण क्षति भएको नगरपालिकाले जनाएको छ ।

सो नगरपालिकाको विभिन्न स्थानमा अविरल वर्षाका कारण बाढी पहिरोबाट क्षति भएकाहरुको विवरण आउने क्रम जारी रहेकोले नगरपालिकाले अध्ययन गरेर आवश्यकता अनुसार अन्यलाई पनि राहत वितरण गरिने नगर प्रमुख नेपालले बताए ।

यता छथर जोरपाटी गाउँपालिकामा भौतिक संरचना बढी क्षति भएका छन् । बर्षाका कारण त्रिशुले–जितपूर सडक, फलैंचा–सल्ले सडक, छथर–चक्रपथ सडक, जोरपाटी–काजीमाने सडक, तेलिया–त्रिवेणी सडक, सिंधुवा–पिपलडाँडा, नाम्जाङ लगायतका सडकहरु पूर्ण रुपमा क्षति भएको गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बूले बताए ।

स्थानीय किसानहरुले उत्पादन गरेको दुध निकासी गर्न सडक क्षतिका कारण समस्या भएको छ । त्यस्तै पहिरोबाट ३ घर पूर्ण क्षति, १२ घर आंशिक क्षति र ३० घर जोखिममा रहेको गाउँपालिका कार्यालयले जनाएको छ । पहिरोले क्षति भएका सडकहरु सञ्चालन ल्याउने प्रयास गरिएको भएपनि करोडौ रकम खर्च लाग्ने भएपछि समस्या भएको अध्यक्ष लिम्बूले बताए ।

त्यस्तै चौबिसे गाउँपालिकामा पनि बर्षाका कारण गाउँपालिका आसपासका वडाहरुको सडक अहिलेसम्म अवरुद्ध छन् । राजारानी हुदै ६ नम्बर बुधवारेतर्फ सञ्चालन हुने सडक शुक्रवार साँझसम्ममा खुलाउने प्रयास भईरहेको गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताए । यता वर्षाका कारण अवरुद्ध राजारानी बोधे, फलामेटार, कुरुलेतेनुपा, मुढेवास सडकखण्ड अहिलेसम्म पूर्णरुपमा अवरुद्ध भएका छन् ।

उक्त सडक खुलाउनको लागि प्राविधिक सहितको टोलीले अध्ययन गरिरहेको गाउँपालिका अध्यक्ष राईले बताए । सो गाउँपालिकामा ५ घर पूर्ण क्षति, ६० घर आंशिक र २ घर विस्थापित भएका छन् । उनीहरुलाई गाउँपालिकाले राहत वितरण गर्न शुरु गरेको छ ।

धनकुटा जिल्लाका सात स्थानीय तह मध्ये महालक्ष्मी नगरपालिका, छथर जोरपाटी गाउँपालिका र चौबिसे गाउँपालिका बाहेक धनकुटा नगरपालिकासहित अन्यमा सामान्य क्षति भएको छ । वर्षाले क्षति गरेका घरहरुलाई धनकुटा नगरपालिकाले त्रिपाल वितरण गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!