काठमाडौं । करोडौँ रुपैयाँको आर्थिक चलखेल र यातायात व्यवसायीको प्रभावमा परेर यातायात व्यवस्था विभागले बिहीबार दिउँसो ३ बजे यात्रुबाहक र मालबाहक सवारीसाधनमा २० प्रतिशत भाडा वृद्धिको निर्णय गर्‍यो । यसअघि गत दसैँको मुखमा १० प्रतिशत भाडा वृद्धि गरिएको ९ महिना नबित्दै भाडा वृद्धि गर्नुको कुनै वैज्ञानिक कारण थिएन । असोजको तुलनामा अहिले पेट्रोलको मूल्य ४ रुपैयाँ र डिजेलको मूल्य साढे २ रुपैयाँले घटेको छ ।

यातायात व्यवसायीले करोडौँ रुपैयाँ परिचालन गरी विभागलाई भाडा बढाउन लगाएका थिए । तर, भाडा वृद्धि नगर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले हस्तक्षेप गरेका कारण ५ घन्टापछि बेलुका ८ बजे नै भाडा वृद्धिको निर्णय फिर्ता लिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको उच्च स्रोतका अनुसार विभागले मन्त्रालयलाई भाडा वृद्धिबारे जानकारी नै गराएको थिएन । ‘भाडा वृद्धिबारे निर्णय लिन सक्ने अधिकार विभागलाई छ, तर औचित्यविना नै बढाएकाले मन्त्रालयले हस्तक्षेप गरी निर्णयलाई तत्काल रोक्न निर्देशन दियो,’ मन्त्रालयका  एक अधिकारीले बताए । हठात् यस्तो निर्णय आउनुमा आर्थिक चलखेलको आशंका गरेको ती अधिकारीको भनाइ छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!