धनकुटा। धनकुटामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालय र यातायात व्यवस्था सेवा कार्यालय उद्घाटन गरिएको छ । मुख्यमन्त्री शेरधन राईले आईतबार दुवै कार्यालयको उद्घाटन गरेका हुन् । प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिम कार्यालय खोलिएको हो ।

Advertisement

साविकको क्षेत्रीय प्रशासन कार्यालयको भवनमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राखिएको छ । कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री राईले सम्पर्क कार्यालयमै मन्त्रिपरिषद्को बैठक चाडै बस्ने बताए । आँखामा छारो हाल्ने ढंगले सम्पर्क कार्यालय नखोलिएको भन्दै उनले सम्पर्क कार्यालयमा मन्त्रिपरिषद् बैठक बसेर महत्वपूर्ण निर्णय गरिने उल्लेख गरे । ‘राजधानी जहाँ भएपनि अरु जिल्लामा पनि अधिकार र सेवा केन्द्र मार्फत सेवा प्रदान गर्नेछौ ।’ उनले भने ।

अव धनकुटामा प्रदेश स्तरीय मेडिकल कलेज स्थापना गरिने उनले आश्वासन पनि दिए । सम्पर्क कार्यालयमा तत्काललाई शाखा अधिकृतसहितका कर्मचारीबाट काम सुचारु गरिनेछ । कार्यालयमा उपसचिव, शाखा अधिकृत, नायव सुब्बा तथा सूचना र प्राविधिक जनशक्ति रहने बताईएको छ ।

मुख्यमन्त्रीको कार्यालयले नीतिगत विषय, नागरिकको गुनासो सुन्ने तथा विकास निर्माण अनुगमन लगायत काम गर्नेछ । मुख्यमन्त्री राईले कार्यालय उद्घाटन पश्चात कार्यकक्षमा बसेर दुईवटा योजनामा तोक लगाउँनुका साथै केही योजनाबारे सेवाग्राहि मार्फत जानकारी पनि लिए ।

 

यसैबीच, धनकुटा नगरपालिका–४ देव्रेवासमा आईतबार नै यातायात व्यवस्था सेवा कार्यालयको पनि उद्घाटन गरिएको छ । क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रमा तोकिएको कार्यालयको मुख्यमन्त्री राईले उद्घाटन गरेका हुन् । केन्द्रले धनकुटा, भोजपुर, तेह्रथुम र संखुवासभाको यातायात सम्बन्धी सम्पूर्ण कार्य गर्ने बताईएको छ ।

धनकुटालाई प्रादेशिक राजधानी घोषणा गरिनुपर्ने माग गर्दै आन्दोलन भईरहेका बेला केहि दिन अघि प्रदेश मन्त्रीपरिषद्को बैठकले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय र यातायात कार्यालय राख्ने निर्णय गरेको थियो । त्यसको केहि दिन पछि बिराटनगरलाई राजधानी घोषणा गरियो ।

राजधानी नभएपछि असन्तुष्ट धनकुटेलीले जिल्लाको विकासका लागि प्रदेश सरकारले बिशेष योजना ल्याउँनुपर्ने माग गर्दै आएका छन् । शासनीक गौंडा हुँदै यसअघि पूर्वाञ्चल बिकासक्षेत्रको सदरमुकाम रहेको धनकुटाको अस्तित्व, पहिचान र ईतिहास मेट्न खोजिएको भन्दै आक्रोशित उनीहरुले अब प्रदेश सरकारले धनकुटालाई जिवन्तता दिन बिशेष संबोधन गर्नुपर्ने माग अघि सारेका हुन् ।

धनकुटामा मेडिकल कलेज, कर, श्रम, पर्यटन लगायत कार्यालय राखेर जिल्लाको अस्तित्व मेटिनबाट जोगाईनुपर्ने उनीहरुको माग छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!