लमजुङ (बेसीसहर) । दोर्दी खोलाको किनारैमा जस्ताको छाना मात्र भएको सानो टहरा छ । टहराभित्र काठका मुढा लडिरहेका छन् । मुढालाई सुम्सुम्याउँदै कहिले यता कहिले उता पल्टाउने कृष्णबहादुर विकलाई फुर्सद नै छैन ।
लामो फलामको छिनो, धारिलो टुप्पो अलिकति कोप्रिएको, त्यही छिनोले काठका मुढा कोट्याएर मनग्य आम्दानी ।
कुमालेको चक्रजस्तै घुम्ने बिजुली मेसिनमा काठका मुढा घुमाउँदै कृष्णबहादुर बिहान, दिउँसो र साँझ ठेकी बनाउने कारखानामा व्यस्त हुनुहुन्छ । १६ वर्षको उमेरदेखि बुबा जुठे विकसँग सीप सिकेर पेसामा लाग्नुभएका विक करिब चार दशक काठको ठेकी बनाएरै बितेको बताउनुहुन्छ ।
ठेकीबाट भएको आम्दानी विकको घरखर्चमा मात्रै सीमित छैन, उहाँले आफ्ना छोराछोरीको शिक्षामा लगानी गर्नुभएको छ । “तीन छोरा विदेशमा छन्, माइलो छोरा अहिले त्रिभुवन विश्वविद्यालयमा एमए पढ्दैछ”, उहाँ भन्नुहुन्छ, “ठेकी बेचेर नै पढाएको हुँ ।”
काठको ठेकी अहिले प्रतिमानाको रु ३०० मा बिक्री हुन्छ । “एक मानादेखि २२ माना सम्मका ठेकी बनाउछु”, उहाँ भन्नुहुन्छ, “एउटा ठेकीबाट रु सात हजारसम्म आम्दानी हुन्छ ।”
कृष्णबहादुरको ठेकी बनाउने पेसालाई आफ्नै भाइले साथ दिएका छन् । उहाँका भाइ मनबहादुर, राजेन्द्र र बुद्धिबहादुर पनि दाजुसँगै ठेकी बनाउँछन् । “जङ्गलमा काठ काट्ने देखि लिएर बिक्रीका लागि गाउँसम्म पु¥याउन भाइले साथ दिएका छन्”, उहाँले भन्नुभयो । दही जमाउने ठेकीबाहेक सुरही, पुचै, पुङ ठेकी, तुम्वा लगायतका सामग्री बनाउने उहाँ बताउनुहुन्छ ।
“मेरो त उमेर पनि सकियो, काठको ठेकीमै जम्यो जिन्दगी, पढेको छैन, जति जानेको छु बुबाले नै सिकाउनुभयो”, उहाँ भन्नुहुन्छ, “अब छोराहरु यो पेसामा बाँच्न सक्दैनन् ।”