उपराष्ट्रपति नन्दबहादुर पुनले अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘क्याप्टेन’ हेरेर प्रशंसा गरेका छन् । सोमवार काठमाडौंको कमलपोखरीमा रहेको विग मुभिजमा कडा सुरक्षाका बीच श्रीमतीसँग पुगेका उनले फिल्मको कथा र कलाकारहरुको अभिनय मन परेको बताए । उनले युवापिढी र राष्ट्रवादीहरुलाई फिल्म हेर्न पनि आग्रह गरे ।

Advertisement

फिल्म हेरिसकेपछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले भने- ‘एकदमै राम्रो लाग्यो फिल्म । सबै नेपालीले एकपटक छुटाउन नहुने फिल्म बनेको छ । स्वास्थ्य, समृद्धि र देशका लागि खेल भन्ने सन्देशसहित फिल्मले खेलभित्र देखा पर्ने विकृतीहरुलाई पनि देखाएको छ । साथै फिल्मले खेल र देशप्रति माया गर्नेहरुलाई ठूलो शिक्षा पनि दिन्छ ।’

उनले फिल्मका निर्माता तथा अभिनेता भुवन केसीलाई ‘महानायक’ को उपाधिले सम्बोधन पनि गरे । अभिनेता केसीले नेपाली फिल्म क्षेत्रमा गरेको योगदानको सम्मान गर्दै उपराष्ट्रपति पुनले भने- ‘उहाँले राष्ट्रका लागि महत्वपूर्ण फिल्म (क्याप्टेन) बनाउनुभएको छ । उहाँलाई म धेरै-धेरै धन्यवाद दिन चाहन्छु ।’ उनले उज्वल भविष्यको कामना गर्दै अनमोललाई ‘सुपरस्टार’ को उपाधिले पनि सम्बोधन गरे ।

तर, उपराष्ट्रपति पुन फिल्म हेरेपछि अनमोलभन्दा अभिनेत्री उपासना सिंह ठकुरीको ठूलो फ्यान भएछन् । उनले अभिनेत्री ठकुरीको प्रशंसा गर्न कुनै कञ्जुस गरेनन् । ‘उहाँ कला क्षेत्रमा परफेक्ट लाग्यो । उहाँलाई असाध्धै राम्रो नायिकाको रुपमा मैले भेटाएँ र उहाँको भविष्य मैले राम्रो देखेँ’, उनले भने । अर्की नायिका प्रियंका एमभीको बारेमा भने उनले केही बोलेनन् ।

उपराष्ट्रपतिसँगै फिल्म हेर्न अभिनेता शिव श्रेष्ठ, कलाकार तथा निर्माता किरण केसी, गायिका अञ्जु पन्तलगायत पनि पुगेका थिए । अभिनेता शिवले फिल्मको मेकिङको प्रशंसा गरेर थाकेनन् । उनले फिल्मको मेकिङमा नेपाली फिल्म क्षेत्रमा भुवन केसीजस्तो अरु नभएको पनि दाबी गरे । उनले फिल्म ‘क्याप्टेन’ हेरेपछि आफू रोएको पनि बताए । ‘यो विशुद्ध नेपालीपन बोकेको फिल्म हो’, उनले भने ।

एक मध्यम वर्गीय युवकले देशका लागि फुटबलमा गोल्ड मेडल जित्न गर्ने संघर्षको कथामा यो फिल्म आधारित छ । फिल्मलाई दीवाकर भट्टराईले निर्देशन गरेका हुन् । कथा सामिप्यराज तिमल्सिनाको हो । भुवन केसी निर्मित फिल्ममा सुनिल थापा, प्रशान्त ताम्रकार, विल्सन विक्रम राईलगायतका कलाकारहरुको पनि अभिनय छ । यो फिल्म अहिले दोस्रो सातामा प्रदर्शनरत छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!