करीब २० वर्षपछि बलिउड सुपरस्टार सलमान खान र प्रख्यात निर्देशक सञ्जय लीला भन्सालीको एक रोमान्टिक प्रोजेक्टमा टिमअप भएको छ । यो फिल्मको नाम ‘हम दिल दे चुके सनम २’ हुनसक्ने चर्चा छ । तर, अहिलेसम्म आधिकारिक रुपमा यस विषयमा निर्माण टिमले कुनै जानकारी दिएको छैन । यो फिल्मका लागि अहिले अभिनेत्रीको खोजी कार्य भैरहेको छ ।
उक्त रोमान्टिक फिल्ममा सलमान आफ्नो अपोजिटमा अभिनेत्री कैटरीना कैफलाई लिन चाहन्छन् । तर, भन्सालीले आफ्नो निर्णय दिन हतार गरेका छैनन् । खबरअनुसार, उनी सलमानको हिरोइनको रुपमा दीपिका पादुकोणलाई लिन चाहन्छन् । दुईले केही फिल्ममा साथमा काम गरेका छन् । तर, अहिलेसम्म लिड रोलमा नायिका भने फाइनल भएको छैन ।
निर्देशक भन्साली आफ्नो यो प्रोजेक्टका लागि ऐश्वर्या राय बच्चनलाई मनाउने कोशिश गरिरहेको पनि चर्चा छ । पहिला यो फिल्ममा सलमानको अपोजिटमा अनुष्का शर्माको नाम भन्सालीले सुझाएका थिए । आलिया भट्ट र जाह्नवी कपूरको नाममा पनि भन्सालीले विचार गरिरहेका छन् । तर, उनी दुई अभिनेत्रीसँग सलमानको जोडी जम्नेमा सशंकित छन् ।
यस्तै, फिल्ममा प्रियंका चोपडाको कास्टिङ पनि सम्भव छ । हालै ‘कफि विद करण ६’ मा उनले कुनै एक प्रोजेक्टमा भन्साली र विशाल भारद्वाजबीच कुरा भइरहेको बताएकी थिइन् । यसकारण यो रोमान्टिक फिल्ममा प्रियंका देखिने सम्भवना पनि बलियो छ । तर, ऐश्वर्याले सलमानसँग फिल्म गर्न तयार भएको खण्डमा भने भन्साली अन्य अभिनेत्रीतिर आँखा डुलाउने सोचमा छैनन् ।