लोकप्रियताको उत्कर्षमा रहेको भारतिय टेलिभिजन कार्यक्रम ‘द कपिल शर्मा शो’ अचानक बन्द भयो । बन्द हुनुमा यसका मूख्य संचालक कपिल शर्मा र को-स्टार सुनिल ग्रोवरबीचको कलह कारण थियो । कुनै कार्यक्रममा सहभागी भएर भारत र्फकदै गर्दा हवाइजहाजमै उनीहरुबीच विवाद भयो ।
त्यो विवाद यति चर्कियो कि, त्यसले कपिल शर्माको करियरलाई सतहमा पुर्याइदियो । त्यहाँबाट उठ्न कपिलले अनेक यत्न गरे, तर सबै प्रयास विफल भयो । यसबीचमा उनका सहकर्मीहरु लाखापाखा लागे, उनको चलचित्र डुब्यो, उनी डिप्रेसनग्रस्त भए । यसको साइड इफेक्ट सुनिल उर्फ मसुर गुलाटीलाई नपर्ने कुरै भएन । उनी पनि चम्किलो स्क्रिनबाट क्रमस धुमिल हुँदै गए ।
अहिले भने कपिल शर्मा तंग्रिएका छन् । उनी फेरी आफ्नो लोकप्रिय कमेडी शो लिएर टेलिभिजनमा फर्किएका छन् । र, यो कमेडी शोले अपेक्षाकृत उडान भरिरहेको छ ।
यसैबीच अर्को सुखद खबर फैलिएको छ । कपिल शर्माको ‘दूर्व्यवहार’बाट रुष्ट भएर लाखापाखा लागेका सुनिल ग्रोवर द कपिल शर्मा शोमा र्फकदैछन् ।
‘कपिल शर्मा शो’ पहिलो सिजनमा निकै रुचाइएका पात्र थिए, डक्टर मसुर गुलाटी अर्थात् सुनिल ग्रोवर । तर, दोस्रो सिजनका केही भाग चलिसक्दा पनि उनलाई दर्शकले उक्त शोमा देख्न पाएका छैनन् । अब भने सुनिल ग्रोवर पुनः कपिल शर्मा शोमा फर्किने तयारीमा छन् ।
सुनिल ग्रोवर कपिलसँग छुटेर टेलिभिजन शो ‘कानपुर वाले खुरनाज’ सुरु गरेका थिए । तर, दर्शकले उक्त शो रुचाएनन् । त्यसैले उक्त शो बन्द भयो । अहिले सुनिल पनि फुर्सदमा छन् । सुनिल कपिलको शोमा बलिउड स्टार सलमान खानको आग्रहमा फर्किन लागेका हुन् । कपिल शर्माको दोस्रो सिजनलाई सलमान खानले नै निर्माण गरेका हुन् ।
भारतिय मिडियाका अनुसार सुनिलले छिट्टै ‘कपिल शर्मा शो’मा सहभागिता जनाउने छन् ।