बिराटनगर। मृत व्यक्तिको मुटु जिवित व्यक्तिमा सफलतापूर्वक सारेर चर्चा कमाएका बरिष्ठ सर्जन डा.कुमुद धितालले ओपन हार्ट सर्जरीका लागि नोबेललाई सहयोग गर्न तयार रहेको बताएका छन् । नोबेल शिक्षण अस्पतालमा आयोजित अन्तरक्रियामा बोल्दै डा.धितालले यस्तो बताएका हुन् ।
पूर्वी नेपालका बिरामीहरुको उपचारको प्रमुख गन्तब्यको रुपमा रहेको नोबेलमा ओपन हार्ट सर्जरी सुरु गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनले त्यसका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्न तत्पर रहेको बताए । डा.धितालको उपस्थितीमा नोबेलमा अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा नोबेलका चिकित्सक, कर्मचारी लगायत सहभागि थिए । सोहि अवसरमा उनले नोबेल शिक्षण अस्पतालको अवलोकनसमेत गरेको नोबेल अस्पतालका निर्देशक एवं मुटु रोग बिशेषज्ञ डा.राजेश नेपालले जानकारी दिए ।
अष्ट्रेलियाको सेन्ट भिन्सेन्टस् हस्पिटलमा कार्यरत नेपाली चिकित्सक डा.धिताल नेतृत्वको टिमले विश्वमै पहिलो पटक मृत मानिसको मुटु सफलतापूर्वक जिवित मानिसमा सारेका थिए । सोहि बिषयले डा.धिताल स्वास्थ्य क्षेत्रमा चर्चित छन् ।