
विराटनगर, ६ पुस । मोरङको बुढीगंगामा बृहत् युवा सम्मेलन शुरु भएको छ । जनजागृती युवा क्लब बुढीगंगाको आयोजनामा ‘समृद्धिका लागि युवा अभियान’ भन्ने नारासहित सम्मेलन सुरु गरिएको हो ।
प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतबहादुर कार्कीले सम्मेलन उद्घाटन गर्दै युवाशक्ति देशको मेरुदण्ड भएकाले युवाहरुलाई प्राथमिकतामा राखेर अवसर प्रदान गर्ने बताए । शिक्षित युवाहरु अब नेपालमा अवसर नपाएर विदेशिनुपर्ने बाध्यताको चाडैं अन्त्य हुने बताउँदै उनले भने ‘त्यसैका लागि सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने व्यवस्था सुरु गरेको हो ।’
कार्यक्रममा योङ कम्युनिष्ट लीग नेपालका केन्द्रीय सदस्य ईश्वरी आचार्य, युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष पर्शुराम बस्नेत, नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर १ का सदस्य गणेश उप्रेती लगायत युवा नेताले राजनीतिक पार्टीको नेतृत्व तहले युवाहरुलाई विगतमा जस्तो सधैं लाठी र बन्दुकमात्रै बोकाएर सत्तामा पुग्ने अनि युवाहरुको मर्मलाई बेवास्ता गरी विदेशिन बाध्य पार्ने प्रवृत्तिको अन्त्य हुनैपर्नेमा जोड दिए ।
कार्यक्रममा सांसद विजय विश्वास थारु, पूर्वसांसद ऋषिकेश पोख्रेल, बुढीगंगा गाउँपालिकाकी उपाध्यक्ष अमृता गच्छेदार, ने.क.पा.का नेता महेश रेग्मीलगायतले समृद्ध नेपाल निर्माण युवाहरुबाट मात्रै सम्भव भएकाले बृद्दावस्थाका नेताहरुले युवाहरूलाई नेतृत्व दिनुपर्ने वेला आएको बताए ।
बुढीगंगा ६ सुक्चरस्थित नारायण माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा ५ सय भन्दा बढी युवाहरु सहभागि रहेको आयोजक समितिका अध्यक्ष मकरबहादुर बुढाथोकीले बताए ।
युवा जागरण र सशक्तीकरणका लागि आयोजित दुई दिने सम्मेलनमा सहभागिलाई उद्घोषणकला, उद्यमशीलता, लैङ्गिक विभेद र युवा नीति, धारणा र व्यवहारका बिषयमा तालिम दिईनेछ ।















