धनकुटा, ५ पुस । धनकुटाको पर्यटकीयस्थल भेडेटारमा अंग्रेजी नयॉ वर्षको अवसरमा सातौं खाना महोत्सव हुने भएको छ । यहि पुस १६ देखि १८ गतेसम्म महोत्सव गर्ने तयारी गरिएको आयोजक होटल एशोसिएसन भेडेटारले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
महोत्सवमा स्थानीय मौलिक खानाका परिकार मुख्य आकर्षणको रुपमा रहने होटल एशोसिएसनका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए । यसैगरी लिम्बु, मगर, याखा, राई लगायत जातिको मौलिक सांस्कृतिक झाँकी, हस्तकलाका सामाग्री लगायत पनि समावेश हुने छन् ।
पर्यटन, होटल व्यापार व्यवसाय, होमस्टे, कृषि तथा सांस्कृतिक क्षेत्रको प्रवद्र्धनका लागि फेष्टिवल आयोजना गर्न लागिएको एशोसिएसनका निवर्तमान अध्यक्ष लीलाराज लावतीले बताए ।
४० स्टल रहने महोत्सवमा ३० हजार पर्यटक भित्र्याएर एक करोड वरावरको आर्थिक कारोबार गर्ने आयोजकको लक्ष्य छ । महोत्सवमा राष्ट्रिय र स्थानीयस्तरका कलाकारको सांगितिक प्रस्तुतीसमेत रहने छ ।
खाना महोत्सवमा आउने आगन्तुकलाई प्याराग्याइडिङ, माउण्टेन वाइक र टुर प्याकेजको व्यवस्था पनि मिलाईनेछ । महोत्सवमा प्रत्येक दिन ७ हजार हाराहारी पर्यटक आउने आयोजकको अनुमान छ ।