धनकुटा, ४ पुस । धनकुटा बजारमा एनआइसी एसिया वैंकको शाखा उद्घाटन गरिएको छ । एनआइसीको दुई सय ३८ औं शाखाको रुपमा बुधबार शाखा उद्घाटन गरिएको हो । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले शाखा उद्घाटन गर्दै बैंकले लगानी गर्दा लगानी गर्ने क्षेत्रलाई पहिचान गरि प्राथमिकता दिनुपर्ने बताए ।
उनले बैंक स्थापना भएपछि नगर तथा जिल्लावासीले आर्थिक कारोवार गर्न सहजता महसुस गर्न सक्नुपर्ने धारणा राखे । ‘बैंक तथा वित्तिय संस्थामा लगानी र निक्षेपमा फरक हुने गरेको छ ।’ उनले भने ‘लगानी गरेको पुँजीले आर्थिक समृद्धि हुनुपर्ने र प्रवाह गर्दा कुन क्षेत्रमा कसरी लगानी हुदैछ, त्यसले दिने प्रतिफलको वारेमा ध्यान दिनुपर्छ ।’
त्यस्तैगरी बैंकका प्रबन्धक सुमन खत्रीले नयाँ शाखा स्थापना भएपछि स्थानीयको बैकिङ्ग पहुँच बढ्न गई स्थानीयमा बचत परिचालन, उद्यमशीलताको वृद्घि जस्ता आर्थिक गतिविधि बढ्ने र व्यवसायी तथा सर्वसाधारणले बैंकले प्रदान गर्दै आएको उच्चस्तरीय सेवाबाट लाभान्वित हुने विश्वास लिईएको बताए । ‘उद्योगी, व्यवसायी र किसानलाई सफल बनाउन बैंकको स्थापना भएको हो,’ उनले भने, ‘गाउँमा लक्षित कार्यक्रम र उत्पादनमा सहभागी हुनेलाई लगानी गर्नेछौं ।’
हालसम्म देशभर तीन सय बढी शाखा विस्तार गरेको एनआइसी एसिया वैँकले हाल बचतमा ७ प्रतिशत र मुद्धतीमा साढे १० प्रतिशत व्याज दिदैँ आएको छ । एनआइसी एसिया वैंक नेपाल राष्ट्र बैंकवाट ‘क’ वर्गको राष्ट्रिय स्तरको ईजाजतपत्र प्राप्त बैंक हो ।