इश्वरी घिमिरे

विराटनगर, ४ पुस । युवा सशक्तीकरण तथा जागरणका लागि मोरङको बुढीगंगामा बृहत् युवा सम्मेलन हुने भएको छ । पुस ६ र ७ गते बुढीगंगा ६ स्थित नारायण माध्यमिक विद्यालयमा हुने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

Advertisement

‘समृद्दिका लागि युवा अभियान’ भन्ने मुलनारासहित जनजागृती युवा क्लब बुढीगंगाले सम्मेलन आयोजना गरेको हो । विभिन्न क्षेत्रका ५ सय युवाहरुको सहभागिता रहने उक्त सम्मेलनमा सहभागीलाई ५ ओटा फरक–फरक विषयमा तालिमसमेत प्रदान गरिने छ । उद्घोषण कला, उत्प्रेरणा, धारणा र व्यवहार, उद्यमशीलता, लैङ्गिक विभेद र युवा नीतिका विषयमा देशकै ख्यातिप्राप्त प्रशिक्षकहरुबाट तालिम प्रदान गरिने आयोजक समितिका अध्यक्ष मकरबहादुर बुढाथोकीले बताए ।

करिब ९ लाख रुपैयाँको लागतमा संचालन गरिने सम्मेलनका लागि बुढीगंगा गाउँपालिकासहित विभिन्न उद्योगी, व्यवसायी तथा समाजसेवीहरुको आर्थिक सहयोग रहनेछ । बाँकि रकम आयोजक समितिले नै व्यवस्था गर्ने भएको छ । युवाशक्ति नै राष्ट्रको प्रमुख शक्ति भएकाले उनीहरुलाई थप सशक्त र जागरुक बनाइ उनीहरुमा आफैंले केही गरौँ भन्ने भावनाको विकास गर्नु आफ्नो प्रमुख उद्देश्य रहेको समितिकी सचिव रीता न्यौपानेले बताइन् ।

युवाशक्ति विदेश पलायन हुने प्रवृतीलाई निरुत्साहित गर्ने, राजनीतिक र सामाजिक क्षेत्रमा पछिल्लो समयमा देखिएका विकृति, विसङ्गतिको अन्त्य गर्ने र स्वरोजगारका अवसरको सृजना गर्ने पक्षमा यो कार्यक्रम सम्भवतः देशमै पहिलो कार्यक्रम रहेको उनको दावी छ । विशुद्ध सामाजिक सेवा र गैरराजनीतिक ढङ्गले संचालन हुने भनिएको सो सम्मेलन आवाशीय रुपमा संचालन गरिने बताईएको छ ।

सहभागीहरूलाई विशेष सुविधासहित निःशुल्क तालिम प्रदान गर्ने आयोजक समितिले तयारी गरिरहेको मन्च व्यवस्थापन समिति संयोजक अशोक अधिकारीले जानकारी दिए । कार्यक्रममा मनोज गजुरेल, श्रीकृष्ण लुइँटेल, साजन राईलगायत विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विशेष प्रस्तुतिसहित विभिन्न जातीय तथा साँस्कृतिक झाँकीहरुसमेत प्रस्तुत गर्ने तयारी गरिएको आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!