काठमाडौँ, १३ मंसिर । नक्कली सुन देखाएर मंगलबार राति बल्खुमा भएको लुटपाटको घटनामा प्रहरीकै संलग्नता खुलेको छ । घटनालगत्तै पीडितले खबर गरेपछि प्रहरीले सुरु गरेको अप्रेसनमा नक्कली सुन र नगदसहित पक्राउ पर्नेमा दुईजना प्रहरी हवल्दार भएको खुलेको हो ।
महानगरीय प्रहरी प्रभाग बल्खुबाट खटिएको सिआरभी टोलीले राति ११ बजेतिर लुटपाटस्थलनजिकै एक केजी नक्कली सुन र ३६ लाख ६५ हजार रुपैयाँसहित पाँचजनालाई पक्राउ गरेको थियो । प्रहरीले औपचारिक रूपमा दुई हवल्दारको नाम सार्वजनिक नगरे पनि स्रोतले उनीहरू महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत शालिग्राम विक र बालाजु वृत्तमा कार्यरत मोहन बम रहेको बतायो ।
प्रहरी स्रोतले भन्यो, ‘बल्खुमा नक्कली सुन देखाएर नगद लुटपाट घटनमा प्रहरी हवल्दारकै संलग्नता देखिएको खुलेको छ । त्यसमध्ये एक ललितपुर परिसर र अर्का बलाजु वृत्तका हवल्दार हुन् ।’ आजको नयाँ पत्रिका दैनकमा यो खबर छ ।