काठमाडौँ, ४ मंसिर । नेपाली कांग्रेसभित्र १३औं महाधिवेशनपछि दोस्रो वरीयतामा झरेका कोइराला परिवारका नेता फेरि एकपटक १४औं महाधिवेशनबाट विरासत फर्काउन अघि बढेका छन् ।
हाल कोइराला परिवारबाट कांग्रेसको उच्च पदमा विश्वेश्वरप्रसाद कोइरालाका पुत्र डा. शशांक कोइराला महामन्त्री छन् । यस्तै, केशवप्रसाद कोइरालापुत्र डा. शेखर कोइराला र गिरिजाप्रसाद कोइरालापुत्री सुजाता कोइराला केन्द्रीय सदस्यको भूमिकामा छन् ।
उनीहरू तीनै जना १३औं महाधिवेशनबाट ब्याक भएको आफ्नो परिवारको राजनीतिक यात्रालाई एक भएर थाम्नेगरी अघि बढेका हुन् । यसको संकेत उनीहरूले आइतबार मोरङमा भएको एक कार्यक्रममा एउटै मालामा बाँधिएर गरेका छन् । तीनै नेताले कोइराला परिवारको कर्मथलो कोइराला निवासलाई साक्षी राखेर आइतबार ऐतिहासिक घोषणासमेत गरेका छन् ।, आजको राजधानी दैनिकमा यो खबर छ ।
सोहीक्रममा महामन्त्री शशांकले आगामी नेतृत्वबारे शेखरप्रति संकेत गर्दै भने, ‘मलाई बीपीले त्याग गर्न सिकाउनुभएको छ, हिजो परशुनारायण चौधरीलाई बीपीले प्रधानमन्त्री बनाउन प्रस्ताव गर्नुभएकै हो, मैले नि शेखर’दाका लागि सभापतिको पद त्याग किन नगर्ने ?’ डा. शशांकले यसो भन्दैगर्दा कार्यक्रममा उपस्थित हजारौं कार्यकर्ताले तालीले स्वागत गरे ।
कार्यक्रममा डा. शेखरले समेत आफ्ना पुर्खाको सपना तीनै जना एक भएर पूरा गर्ने प्रतिबद्धता जनाए ।‘हाम्रा पुर्खाहरूको सपना हामी तीन नेता मिलेर पूरा गर्छौं, हिजो पनि हामी एकठाउँ थियौं, आज पनि छौं र भोलि पनि हुनेछौं, यसमा कार्यकर्ताको सहयोग आवश्यक छ,’ डा. शेखरले भने ।