संगालोखबर सम्वाददाता

काठमाडौँ, २ मंसिर । पत्रकार तथा गीतकार रमेशचन्द्र अधिकारीको रचना रहेको बिना बर्दीका पुलिस बोलको गीत संस्कृतिविद् सत्यमोहन जोशी र प्रहरी महानिरिक्षक सर्बेंन्द्र खनालले संयुक्त रुपमा लोकार्पण गरेका छन् ।

Advertisement

“बिना बर्दीका पुलिस हौं, असल नागरिक
हाम्रो एउटै मूल मन्त्र देशको गरौं हित”

बोलको उक्त गीतलाई वरिष्ठ संगीतकार भुपेन्द्र रायामाझीको संगीत र गायक विजयनारायण मानन्धरको स्वर रहेको छ । अघिल्लो महिनादेखि नेपाल प्रहरीले थालेकोे समुदाय साझेदारी अभियानमा सघाउ पुर्याउने भन्दै गीतलाई प्रहरीले महत्व दिएको प्रहरी महानिरीक्षक खनालले बताए ।

प्रहरीले विगतमा गरेका कमिकमजोरीलाई नागरिक तहसंग हातेमालो गर्दै सच्याउदै जाने खनालको भनाई थियो । ‘गीतमा शक्ति हुन्छ, यसले समाजलाई वदल्न सघाउछ’, उनले भने, ‘नागरिकसंगको सहकार्यबाट प्रहरीबाट हुने विगतका कमिकमजोरी सुधार्दै लैजानेमा विश्वास दिलाउछु ।’ नागरिक र प्रहरी संगसंगै जानु पर्ने भन्दै उनले लोकार्पण गरिएको गीत मुलुकभरका प्रहरी निकायमा महत्वका साथ प्राथमिकता दिने बताए ।

बिना बर्दीका पुलिस हामी गीतको लोकार्पण्ँ गर्दै संस्कृतिविद सत्यमोहन जोशी तथा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल ।

नेपाल पुलिस क्लबको सभा हलमा आयोजित गीत लोकार्पण कार्यक्रमको अध्यक्षता समेत गरेका खनालले गीत संगीतको माध्यमले नागरिक तहमा सकारात्मक सन्देश प्रवाह गर्ने उल्लेख गरे ।

यसैगरी संस्कृतिविद् जोशीले गीत संगीतको माध्यमले समाज रुपान्तरण गर्न सक्ने बताए । राष्ट्रियता झल्काउने गीतले नागरिक र प्रहरीबिचको पुलको काम गरेको जोशीले उल्लेख गरे । थोरै शब्दमा धेरै भाव बोक्ने गीत जीवन्त हुने उनको तर्क थियो ।

कार्यक्रममा गीतकार तथा पत्रकार अधिकारीको रचनाको बिना बर्दीका पुलिस हामी बोलको गीतलाई गायक मानन्धरले प्रत्यक्ष गाएका थिए । गीतकार अधिकारीले आफ्नो गीत संग्रह ‘पहिलो स्पर्श’ मा समावेश रचनालाई संगीतबद्ध गरिएको उल्लेख गरे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!