
काठमाडौँ, १ मंसिर । नेपाल कम्युनिस्ट पार्टीभित्र देखिएको आन्तरिक किचलोले गर्दा सांगठनिक एकता प्रक्रिया नै प्रभावित बनेको छ। पार्टीको सांगठनिक एकीकरणलाई टुंगो लगाउन शीर्ष नेतृत्वकै बेवास्ता देखिएको छ।
पटक–पटक भाका सारिँदै आएको एकता प्रक्रिया झन् लम्बिँदै गएको छ। एकता प्रक्रियाका लागि कार्यदलले तयारी गरेर खाकासहितको प्रतिवेदन सचिवालयको बैठकमा पेस गरे पनि शीर्ष नेताबीचकै विवादका कारण स्थगित भएको थियो।
पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै एकता प्रक्रियालाई टुंगो लगाउन पर्याप्त ध्यान नदिएको आरोप सचिवालयका नेताहरूले नै लगाउन थालेका छन्। आजको नेपाल समाचारपत्रमा यो खबर छ ।
पार्टीको सांगठनिक एकताको विषय स्थायी समिति बैठकमा छलफल गराउनुपर्ने माग उठे पनि अध्यक्षद्वयले स्थायी समितिको बैठक नै लम्ब्याउँदै आएका छन्। पार्टीको स्थायी समितिको बैठक तीन महिनायता बस्न सकेको छैन। सचिवालयको बैठक पटक–पटक बसे पनि ठोेस निर्णय लिन सकेको छैन।