सङ्खुवासभा । अर्थमन्त्री युवराज खतिवडाले सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा कर कार्यालय उद्घाटन गरेका छन् ।
पूर्वी पहाडी जिल्ला सङ्खुवासभाको खाँदाबारीमा कार्यालय उद्घाटन गर्दै मन्त्री खतिवडाले जनतासँग दोहोरो कर नलिने नीति लिएको बताए । उनले व्यावसायिकरुपमा आयआर्जन गर्नसक्ने र आम्दानी हुनेसँग सरकारले कर लिनेहुँदा सर्वसाधारण जनतालाई करको त्रासमा नपर्न आग्रह गरे ।
नेपालकै चर्चित अरुण तेस्रो जलविद्युत् आयोजना सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै मन्त्री खतिवडाले देशको समृद्धि र अर्थ व्यवस्थामा आमूल सुधार हुनेमा सरकार ढुक्क रहेको उल्लेख गरे ।
उनले पूर्वी पहाडी जिल्लाको भाग्य र भविष्य बोकेको ९०० मेगावाट क्षमता रहेको जलविद्युत् परियोजना भारतीय सतलज कम्पनीले समयमा सम्पन्न गर्नेमा सरकार आशावादी रहेको बताउए । मन्त्री खतिवडाले जोगवनी विराटनगर किमाथाङ्का कोशी राजमार्गले दुई वटा ठूला छिमेकी देशलाई जोड्ने सेतु मार्ग बन्ने विश्वास व्यक्त गरे ।
सङ्खुवासभाका उद्योगी तथा व्यवसायीलाई आन्तरिक राजश्व कार्यालय धरान जानुपर्ने बाध्यता आजदेखि विधिवत्रुपमा अन्त्य भएकाले उनीहरुलाई कर दाखिला गर्न सहज हुने कार्यालय प्रमुख देवेन्द्र लिम्बूले बताए ।