जयनगर, ८ कात्तिक । जनकपुर रेल सञ्चालनको अन्तिम तयारी हुँदा नेपाल पूर्ण रूपमा भारतमै भर पर्नुपर्ने भएको छ । रेल र दक्ष चालक नहुँदा रेल्वे भारतलाई नै भाडामा दिएर सञ्चालनको तयारी थालिएको छ ।
रेल्वे निर्माणको रेखदेख अहिले रेल विभागले गरिरहेको छ । रेल चलाउने जिम्मा भने रेल्वे कम्पनीलाई दिइने योजना थियो । तर, अब रेल्वे भारतलाई नै भाडामा दिएर भए पनि सञ्चालन गर्ने रेल विभागको तयारी छ । रेल विभाग जनकपुर साइटका इन्जिनियर विनोद ओझाले दुईदेखि तीन वर्षका लागि भारतलाई नै भाडामा दिएर आगामी डिसेम्बरदेखि सञ्चालन गर्ने तयारी गरिएको बताए ।
भारतलाई ‘वेट लिज’ वा ‘ड्राई लिज’मा दिनेबारे छलफल भइरहेको ओझाले बताए । वेट लिजमा रेलको इन्जिन, बोगी, कर्मचारी व्यवस्थापन सबै भारतले गर्नेछ । यात्रुबाट हुने आम्दानीको निश्चित रकम नेपाल सरकारले पाउनेछ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
नेपाल रेल्वेसँग १७ कर्मचारी
नेपाल रेल्वे कम्पनीसँग हाल १७ कर्मचारी मात्र छन् । कर्मचारी अभावका कारण नेपाल रेल्वे कम्पनीले तत्काल रेल सञ्चालन गर्न नसक्ने निमित्त महाप्रबन्धक तुलबहादुर डाँगीले बताए । कम्पनीसँग ओभरसियर र खरिदार एक–एकजना, वैदार चार र बाँकी श्रेणीविहीन कर्मचारी छन् । रेल सञ्चालनका लागि नयाँ कर्मचारी भर्ना गरेर तालिम दिनुपर्ने डाँगीले बताए ।