धनकुटा, ३० असोज । धनकुटामा मंगलवार विशेष फूलपाती बडाई गरिएको छ । बिजयादशमीको सातौं दिन अर्थात फूलपातीको अवसर पारेर फूलपाती बढाई गरिएको हो ।
स्थानीय निशान भगवती मन्दिरबाट डोलीमा निशानलाई बोकेर बजार परिक्रमा गराईयो । त्यसपश्चात टुडिखेलमा विशेष पूजा गरी फूलपाती बडाई गरिएको हो । प्रशासक, राजनीतिकर्मी, सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधि लगायत सहभागि सो कार्यक्रममा नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीको टुकडीले सलामी दिएको थियो ।
फूलपाती बडाई हेर्न सर्वसाधरणको भीड लागेको थियो । करिब एक शताव्दी अघिदेखि धनकुटामा यसरीनै फूलपाती बडाई गरिदै आएको स्थानीयबासी बताउछन् । झाकीसहित निशानदेवी तथा विभिन्न नौ प्रकारका वनस्पतिका साथ डोलीमा राखेर विशेष पूजा गर्ने चलन छ ।
अशोका, केरा, जयन्ती, हलेदो, वेलपत्र, धान, सामा, दारिम र माने जस्ता वनस्पतिको विशेष महत्व रहने गर्छ । निशानलाई प्रत्येक वर्ष फूलपातीको दिन मात्र मन्दिर बाहिर निकाल्ने चलन रहेको पण्डित माधबप्रसाद दाहालले जानकारी दिए ।