प्रेम देवान/संगालोखबर

मोरङ, २६ असोज । मोरङका दुई छुट्टाछुट्टै स्थानमा गए राति भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बेलवारी नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

Advertisement

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ५ ख १९२० नं को ट्रकले बिपरीत दिशाबाट जाँदै गरेको को १ २ प ९६८२ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बेलवारी– ११ का ४० वर्षीय मनकुमार राई र पछाडि सवार सोही ठाउँका ४५ वर्षीय वर्णकुमार राईको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते दुई जनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङका प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोखरेलले जानकारी दिए ।

ठक्कर दिने ट्रक र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय बेलवारीले नियन्त्रणमा लिएको छ । यस्तै जिल्लाकै कानेपोखरी गाउँपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

ना ५ ख २१४१ नं को बसले बाटो काट्ने क्रममा ठक्कर दिँदा घाइते भएका कानेपोखरी गाउँपालिका–७ का ५० वर्षीय विष्णु भेटवालको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!