इटहरी, २४ असोज । विगत बीस वर्ष अघिदेखि इटहरीमा सार्वजनिक दशैँघर स्थापना गरेर सार्वजनिक रुपमा जमरा राख्दै आएका इटहरीवासीले यो वर्ष पनि विधिपूर्वक पूजापाठ गरेर दशैँघरमा जमरा राखेका छन् ।

Advertisement

इटहरी उपमहानगरपालिकामा लामो समयदेखि विशेष ढङ्गले सतसङ्ग मन्दिरसँगको सहकार्यमा दशैँ बढाइँसमेत गर्दै आएका इटहरीवासीले यो वर्ष झनै व्यवस्थित ढङ्गले दशैँको जमरा राख्ने कार्यदेखि दशैँघरलाई भव्यरुपमा स्थापना गरिएको अध्यक्ष विजय केसीले जानकारी दिए ।

उपमहानगरपालिकाको २० वटा वडालाई समेटेर यो वर्ष टोलटोलबाट भजनकीर्तनसहितको टोली परिचालन गरी विभिन्न जातजातिसहितको झाँकीले उपमहानगर क्षेत्रको फूलपाती बढाइँ गर्ने योजना तयार गरिएको सार्वजनिक दशैँ पुजा समितिका अध्यक्ष केसीले जानकारी दिए ।

दशैँघरमा इटहरीवासीलाई दशैँको खुशियालीमा स्व टेकनारायण चौधरी प्रतिष्ठानले सामूहिक भोजको प्रबन्ध गर्नेछ । दशैँघरमा विगत वर्षभन्दा धेरै जमरा राखिएको छ ।

महिला समितिका संयोजक सुमी थापाले दशैँभरि सार्वजनिक दर्शन र पूजाघरमा भजनकीर्तनसहित धुमधामसँगै धार्मिक एवं जातीय सांस्कृतिक मनोरञ्जनका कार्यक्रम गर्ने तयारी भइरहेको जानकारी दिए । प्रत्येक वर्ष छठपर्व धुमधामसँग मनाउँदै आइएको बूढीगङ्गा तटमा यो वर्षदेखि सूर्य भगवान्को पूजाका लागि विधिपूर्वक मन्दिर नै निर्माण गर्ने उद्देश्यले आज शिलान्यास गरिएको छ ।

उदाउँदो र अस्ताउँदै सूर्य भगवान्को भक्तिपूर्वक पूजा गरिने छठ माताको भव्य रुपमा पूजापाठ गर्न बूढीगङ्गा खोलाको पूर्वी तटमा एक कट्ठा जमीनको क्षेत्रमा सूर्य भगवान्को मन्दिर निर्माण गरिने भएको हो ।

रु दुई लाख बढीको लागतमा फाइबरको सूर्य भगवान्को पूर्ण कदको मूर्तिसमेत तयार गरिसकिएको सार्वजनिक छठ पूजा समितिका अध्यक्ष रामहृदय रामले जानकारी दिए । राधाकृष्ण भक्ति साधना प्रतिष्ठानले उपलब्ध गरेको उक्त जमीन क्षेत्रमा रु २५ लाख बढीको लागतमा मन्दिर निर्माण गर्ने तयारी भइरहेको पनि उहाँले जानकारी दिए । सुन्दर हरैचा नगरपालिका–५ स्थित बूढीगङ्गाको पूर्वी तट क्षेत्रमा निर्माण गरिने सूर्य भगवान्को मन्दिरले उक्त क्षेत्रलाई धार्मिक तीर्थस्थलको थप पहिचानका लागि बल पुग्ने विश्वास गरिएको छ ।

बराहक्षेत्र मन्दिरका पीठाधीश बालसन्त मोहनशरण देवाचार्यद्वारा स्थापित राधाकृष्ण भक्ति साधना प्रतिष्ठान केन्द्रले विभिन्न समाजसेवी जग्गादाताबाट प्राप्त जमीनबाट सूर्य भगवान्को मन्दिर निर्माणमा उक्त जमीन उपलब्ध भएको बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!