
विराटनगर, १४ असोज । विराटनगर १४ मा रहेको श्रीकृष्ण गौ सेवा सदनले सञ्चालनमा ल्याएको वायोग्यास पुनः सुचारु भएको छ । गत भदौ ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको एक साता मै प्लान्टमा प्राविधिक समस्या आएको थियो ।
वायोग्यास प्लान्टमा प्राविधिक समस्या आएपछि झण्डै एक महिना अवरुद्ध भएको थियो । प्राविधिक समस्या आएपछि स्थानीयवासीको घरमा करिब एक महिना ग्यास वितरण कार्य प्रभावित भएको नेपाल उर्जा कम्पनीका प्राविधिक हरिशरण श्रेष्ठले जानकारी दिए ।
बायोग्यास प्लान्टबाट पाइपलाइनमा ग्यास वितरण गर्दा बिजुली गडबड हुँदा ‘मेम्ब्रेम’ मा समस्या आएपछि मर्मतका लागि ग्यास वितरण बन्द गरिएको उनले बताए । प्लान्टबाट ग्यास वितरणमा समस्या आएपछि भारतबाट प्राविधिक बोलाइएको थियो । सिड कन्सल्टेण्ट एण्ड इन्जिनियरिङ दिल्लीबाट आएका इन्जिनियरसहितको टोलीले मर्मत गरी वायो ग्यासलाई सञ्चालनमा ल्याएका छन् ।
गौसेवा सदनका प्रबन्धक सन्तोष यादवले भने, ‘बिजुलीको गडबढीले स्टेपलाइजरमा समस्या देखिएपछि केही दिन यता रोकिएको थियो तर अहिले पुर्णरुपमा सुचारु छ ।’
गौशला भित्र रहेको २ सय ७ वटा गाईको गोवर संकलन गरी ग्यास उत्पादनलाई निरन्तरता दिएको छ । गौशलादेखि करिब २ सय मीटर टाढा रहेका ३२ वटा घरमा पहिलो चरणमा वायोग्यास जडान गरिएको छ । केही समयपछि अरु ४८ घरलाई पाईप लाईनबाट ग्यास पुर्याउने योजना रहेको छ ।
विश्व बैंकको ८४ लाख लगानीमा वैकल्पिक ऊर्जा प्रवद्र्धनले पाइप लाईन मार्फत स्थानियवासीको भान्सासम्म ग्यास बल्न शुरु भईसकेको छ । विस २०४२ सालमा स्थापना भएको सामुदायिकस्तरको गौशालाबाट निस्किएको गोबरलाई कसरी सदुुपयोग गर्ने भन्ने समितिको छलफलपछि वैकल्पिक बायोग्यास संचालनमा ल्याईएको हो ।





















