संगालोखबर सम्वाददाता

धनकुटा, १२ असोज । प्रदेश नं. १ मा पहिलो पटक दुई वटा निर्देशनालय औपचारिक रुपमा सञ्चालनमा आएका छन् । स्वास्थ्य निर्देशनालय र शिक्षा विकास निर्देशनालय औपचारिक रुपमा धनकुटामा सञ्चालनमा आएका हुन् ।

Advertisement

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई तथा सामाजिक विकास मन्त्री जीवन घिमिरेले दुवै निर्देशनालयको संयुक्त रुपमा उद्घाटन गरे । विगतमा क्षेत्रीय निर्देशनालयको रुपमा रहेका कार्यालय प्रादेशिक ढाचामा पुनर्संरचनाको रुपमा सुरु गरिएको हो ।

स्वास्थ्य निर्देशनालयले प्रदेशभरी रोग निगरानी, प्रकोप पहिचान, स्वास्थ्य नीति निर्देशन, औषधी तथा औंजार व्यवस्थापन लगायतका कार्य गर्ने अख्तियारी दिईएको छ । यसैगरी शिक्षा विकास निर्देशनालयले प्रदेश स्तरीय विद्यालय निगरानी, शैक्षिक तालिम समन्वय, निर्देशन लगायतका कार्य गर्ने जनाईएको छ । विगतको क्षेत्रीय निर्देशनाय भन्दा पूर्ण अधिकार सम्पन्न गराईने भएको छ ।

यसैबिच मुख्य मन्त्री शेरधन राईले प्रदेश सरकारले आफ्नो महत्वपूर्ण कार्यको रुपमा प्रदेश निर्देशनालय सञ्चालनलाई लिएको बताए । आगामी १५ दिनभित्र प्रदेश अन्तर्गतका सम्पूर्ण प्रशासनिक संरचना गठन गर्ने जानकारी दिए । यसैगरी फरक प्रसंगमा उनले कार्य चालु संसद बैठकबाटै प्रदेशको नामांकन र स्थायी राजधानीको टुंगो लाग्ने बताए । राईले वृहत विराट प्रदेशको अवधारणा अनुसारको क्षेत्र कायम गरेर राजधानी समेटिने तयारी गरिएको समेत जानकारी दिए ।

एक महानगर, दुई उपमहानगर र अन्य नगर तथा गाउ“पालिका सहित दर्जन बढि स्थानीय तह समेटेर त्यस क्षेत्रभित्र राजधानी कायम हुन सक्ने उनले संकेत गरे । यस्तै विराट, सप्तकोसी, कोसी, सगरमाथा, किरात लगायत प्रस्तावित नाम मध्ये एकलाई प्रदेशको नामांकन गरिने बताए ।

आफु सहजकर्ताका भुमिकामा रहेकोले एकिन नाम हुनु पर्ने बताउन नचाहेको स्पष्ट पारे । उनले प्रदेशका कार्यशैलीबाट अब्बल प्रदेशको पहिचान दिने दावी गरे। यसैबिच प्रेस चौतारीले आयोजना गरेको पत्रकार भेलामा मुख्य मन्त्री राईले शुन्यबाट काम थालनी गर्दा नामांकन तथा स्थायी राजधानी तोकिने कार्यमा विलम्ब भएको बताए ।

उद्घाटन कार्यक्रममा प्रदेशसभा सांसद निरन राई, इन्द्रमणी पराजुली, कुसुम श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख टंकबहादुर चुवान, प्रदेश सचिव केदार न्यौपाने, स्वास्थ्य निर्देशनालयका निर्देशक भोगेन्द्र डोटेल लगायतले मन्तव्य राखेका थिए ।

हिंसा नियन्त्रण सम्बन्धि विधेयक पारित

पछिल्लो समय बलात्कार, हत्या हिंसाजन्य गतिविधि बढिरहेको अवस्थामा प्रदेश नं.१ ले विहिवार हिंसा नियन्त्रण सम्बन्धि विधेयक पारित गरिएको छ ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले विहिवार बस्ने प्रदेशसभा बैठकबाट हिंसा नियन्त्रण सम्बन्धि विधेयक पारित गरिएको जानकारी दिए । प्रदेश स्तरीय शिक्षा तथा स्वास्थ्य निर्देशनालय उद्घाटन गर्न धनकुटा पुगेका घिमिरेले उक्त जानकारी दिएका हुन् ।

आगामी एक महिनाभित्र लालमोहर लाग्नेगरी विधेयक आउन लागेको उनले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!